हिमाल दैनिक
अवैध हतियार चिनियाँ पेस्तोल बोकी लुट्धन्दा मच्चाउने समूहलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले दुई वटा चिनियाँ पेस्तोलसहित पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो । शनिबार प्रहरीले यस समूहका सात जनालाई दुई वटा चिनियाँ पेस्तोलसहित नियन्त्रणमा लिएको थियो भने एक व्यक्ति आइतबार पक्राउ गरेका हुन् । उनीहरुलाई माछापोखरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामा कुशल अधिकारी, रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, योर्सङ घले, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् । पक्राउ परेकाहरुको साथमा रहेको चिनियाँ पेस्तोल प्रहरीले प्रयोग गर्ने पेस्तोल जस्तै देखिएको प्रहरीले जनाएको छ । ती पेस्तोल प्रहरीबाटै जनयुद्धताका लुटिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र खुल्ने महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहले बताए। पक्राउ परेको समूहले नेपाल प्रहरीकै शैलीको कपाल बनाएर प्रहरी भन्दै घर रेकी गर्ने र व्यवसायी लुट्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । पक्राउ परेकामध्ये पाँच जना माछापोखरीस्थित ’हाइ रेस्टुरेन्ट एन्ड डान्स बार’का सञ्चालक भएको प्रहरीले जनाएको छ । उनीहरुले कतिपय ठाउँमा डान्स बारको आडमा लुटधन्दा मच्चाएको देखिएको प्रहरीले जनाएको छ । लुटपाट समूहले आइतबार नै बौद्धको घर लुट्ने योजनासमेत बनाएको खुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update