हिमाल दैनिक
स्थानीय तह र प्रहरीको समन्वयमा तीज मनाउन आग्रह
kathmandu jilla prashasan karyalaya
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिका रुपमा मनाउन अनुरोध गरिएको जानकारी गराए । काठमाडौँका स्थानीय तहका जनप्रतिनिधिले पछिल्लो पटक तीज मनाउने क्रममा मौलिक संस्कृति मेटिँदै गएको भन्दै प्रशासनमा आएपछि भड्किलो नभई शान्तिपूर्ण तरिकाले तीज मनाउन आग्रह गरिएको उनले बताए। “तीज चाँडको आफ्नै मौलिक विशिष्टता एवं सामाजिक परम्परा कायम रहेको छ । माइती र चेलीलाई मात्र नभएर सिङ्गो समाजलाई जीवन्त, मौलिक र पारस्पारिक सम्बन्धलाई यसले जोडेको देखिन्छ” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । सूचनामा पछिल्लो समयमा तीज आउनुभन्दा धेरै पहिलेदेखि यस पर्वका नाममा बढ्दो तडक भडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनी, प्रदूषण र चोरी हुने जस्ता विकृतिजन्य क्रियाकलापले तीज पर्वको मौलिकतामा माथि आँच पुगको उल्लेख छ । प्रशासनले छुट्टै सामाजिक र मौलिक विशिष्टता कायम रहेको चीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व कायम राख्नसमेत अनुरोध गरेको छ । केही वर्ष यता काठमाडौँमा तीज मनाउने क्रममा मौलिक संस्कृति बिर्सदै पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँमा भड्किलो खर्च गर्दै मनाउन थालिएको छ । हिन्दू महिलाले सदियौँदेखि मनाउँदै आएको हरि तालिका तीज यसवर्ष आगामी भदौ १६ गते परेको छ । रासस
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update