बिबाहको नाटक गरी यौनधन्दाका लागि चीनमा चेलिवेटी ओसारपसार गर्ने गिरोह प्रहरी फन्दामा
चेलिबेटी बेचविखनका लागि भारतीय बजारको चर्चा चल्दै आएकोमा पछिल्लो समय मानव बेचविखनमा संलग्न तस्करहरुले उत्तरी छिमेकी राष्ट्र चीनको बजारतर्फ ध्यान केन्द्रीत गरेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नक्कली विवाह गरी दुलही बनाएर नेपाली महिलालाई चीन लैजान लागिएको आशंकामा दुई नेपाली महिलालाई उद्दार गरेको छ।
व्युरोले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै दुई दिनअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकसँग विवाह गरेर चीन जाँदै गरेका दुई नेपाली महिलाको उद्धार गरिएको जनाएको हो।
व्युरोका एसएसपी ईश्वरबाबु कार्कीले दुई नेपाली महिलासँगै रहेका चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जानकारी दिए।
व्युरोको टोलीले चारजना चिनियाँ नागरिक र छ जना नेपाली गरी १० जनालाई पक्राउ गरेको हो। एसएसपी कार्कीले पाँच दिनका लागि मात्र नेपाल आएका चिनियाँ नागरिकले नेपाली दलालको सहयोग नेपाली महिलासँग कानुनी रुपमै विवाह गरेको देखिएको बताए।
चिनजान नै हुन नपाउँदै विवाह हुनु, एकअर्काको भाषासमेत नजान्नु लगायतका कुरा थाहा पाएपछि अनुसन्धान सुरु गर्दा चीनमा यौनदासी बनाउनका लागि नेपालबाट नेपाली चेलिहरु लग्ने गरिएको तथ्य प्रहरीले पत्ता लगाएको हो।
दलालहरुमार्फत् आएका युवतीहरुलाई काठमाडौंका दलालले आफूसँग फ्ल्याटमा राखी उनीहरुलाई विदेश नपठाउँदासम्म सामान्यतयाः १०–१५ दिन जति सोही स्थानमा राख्ने गरेको पाइएको एसएसपी कार्कीले बताए।
युवतीहरुलाई विवाह गर्ने भनिएको श्रीमानको घर, परिवारको बारेमा अनलाइन कलबाट न्यून जानकारी दिइएको पाइएको छ। विवाह गर्ने युवती तय भएपछि चीनमा रहेको दलालमार्फत् चिनियाँ नागरिकहरु काठमाडांैमा आएर चिनियाँ दलालसँग सम्पर्क गर्ने गरेको खुलेको व्युरोले जनाएको छ। एक युवतिलाई विवाह गराएबापत काठमाडौंमा रहेको चिनियाँ दलालले दश लाखसम्म, काठमाडौंका नेपाली दलालले १–२ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, अभिभावकले ५० हजारसम्म पाउने गरेको जानकारी प्रहरीले दिएको छ।
प्रहरीले पक्राउ गरेका १० जनाको साथबाट १२ थान मोबाईल र २१ लाख ९७ हजार ९६० नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय