हिमाल दैनिक
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान
DSC05562
मोरङको रङ्गेली नगरपालिकास्थित काली मन्दिरमा भक्तजन एवं श्रद्धालुहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने कामनामा साथ दर्शन गर्न आउने गरेका छन्। सबै क्षेत्रबाट पूजाका लागि पुगिने यो मन्दिर विराटनगर महानगरपालिकादेखि करीब ४० किमी पूर्वमा पर्छ। हुलाकी राजमार्गसँग जोडिने रङ्गेलीबजारमा अवस्थित यो मन्दिरले स्थानीयवासीलाई पहिचान गराउन मद्दत गरिरहेको छ। मन्दिर तीन कठ्ठा १० धुर जग्गामा पेगोडा शैलीको कलात्मक एवं निकै आकर्षक देखिन्छ। मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा अवस्थित काली मन्दिर पूर्वकै  प्राचीन मन्दिर हो भने यहाँ आउने मानिसका मनोकाङ्क्षा पूरा हुने गरेको आम विश्वास छ। भक्तजन र श्रद्धालुहरुले आफ्नो मनकामना पूरा होस् भनेर पूजापाठ गर्नुका साथै बोका, परेवा, हाँसजस्ता जन्तु बलि चढाउने गर्दछन्। यस मन्दिरमा विवाह होस् वा सन्तान प्राप्तिका लागि माताको दर्शन गर्न जाने भक्तजनको भीड लाग्नुले रङ्गेलीको परिचय र महिमा बढेको पाइन्छ। यो मन्दिर कहिले र कसरी स्थापना भयो भन्ने  कुरा यकिन गर्न नसके पनि  करीब २०० वर्ष पुरानो रहेको स्थानीयवासीको अनुमान छ। काली मन्दिर व्यवस्थापन समितिबाट मन्दिरको कार्य चलेको पूजारी तीर्थप्रसाद भण्डारीले बताए। मन्दिरको नयाँ भवन निर्माण भएसँगै हरेक वर्षको वैशाख शुक्ल अष्टमीको दिन काली मन्दिरले वार्षिकोत्सव मनाउने गरेको छ। त्यस दिन भारतको विभिन्न ठाउँहरुबाट पनि भक्तजनहरु आउने गरेका छन्। सरकारी खर्चबाट कुनै किसिमको सहयोग नरहेको र सरकारी निकायले ध्यान नदिएको पूजारी भण्डारीले गुनासो गरे। आर्थिक सहयोग कतैबाट नजुटेपछि भक्तजनबाट उठेको रकम मन्दिरकै काममा खर्च गर्ने व्यवस्था मिलाइएको छ। यस्तै, रङ्गेली बजारमा संसारीमाईको मन्दिर पनि छ। काली मन्दिर पूजापाठका लागि पुग्ने भक्तजन एवं श्रद्धालुहरु संसारीमाईस्थानमा पनि पुगेर पूजापाठ एवं धार्मिक क्रियाकलाप गर्ने गरेको स्थानीयवासी बलराम पोखरेलले जानकारी दिए। रासस
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update