हिमाल दैनिक
टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्राउलाई लिएर सामाजिक सञ्जालमा जथाभावी लेख्ने व्यक्तिहरुलाई प्रहरीले निगरानी गर्दै पक्राउ गर्न थालेको छ। लामिछानेको समर्थन र प्रहरी प्रशासनको विरुद्धमा गाली गलौज गरी लेखेको आरोपमा अछामका रिदम बिसी भनिने शंकर बिकलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा प्रहरीले बिसीलार्ई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। सामाजिक संजाल मार्फत जथाभाबी प्रहरीलाई लागी गलौज गरेको देखिएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए। पक्राउ परेका बिकले एसएसपी सुवेदीलाई ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए। पक्राउ परेका बिकलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ। पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन पुर्याएको थियो। उनीहरुको पक्राउ र छानविनको विरोधमा कतिपय युवा तथा सर्वसाधारणहरुले शुक्रबारदेखि चितवन लगायतका स्थानमा प्रदर्शन गरिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update