हिमाल दैनिक
सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार  पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन्।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update