हिमाल दैनिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७५/७६ मा घुससहित २ सय जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले पक्राउ पर्नेमा कार्यालय सहयोगीदेखि विशिष्ट श्रेणीका कर्मचारीसम्म रहेको जनाएको हो । घुससहित रंगेहात पक्राउ पर्नेमा सबैभन्दा बढी गृह मन्त्रालय मातहतका कर्मचारी छन्। गृहका २७ जना, संघीय मामिला अन्तर्गतका २६ जना, भूमि व्यवस्था अन्तर्गतका २२ जना, वन वातावरणका ११ जना कर्मचारी रंगेहात पक्राउ परेका थिए । अख्तियारले गत आर्थिक वर्षमा परेका उजुरी मध्ये ३५१ मुद्दा दर्ता गरेको समेत जनाएको छ । जम्मा २४ हजार ४८ मध्ये १५ हजार ६ सय ११ उजुरी फर्छ्यौट गरिएको र त्यस मध्ये ३५१ उजुरी मात्रै मुद्दामा गएको अख्तियारले जनाएको छ । अख्तियारले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ८८।५ प्रतिशत कार्य सफल रुपमा सम्पन्न भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले अख्तियारले दायर गरेको मुद्धामा सफलताको प्रतिशत बढिरहेको दाबी गरे । नेपाली सेनाभित्रको भष्ट्राचारमा संलग्नलाई कारवाही गरेरै छाड्ने उनले बताए भने राष्ट्रिय परिचयपत्र छपाईमा भएको भनिएको भ्रष्टाचार र राष्ट्रिय गौरवका आयोजनाभित्रको भ्रष्टाचार पनि अध्ययनका क्रममा रहेको उनले बताए। बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पनि छिट्टै मुद्दा चलाउने अख्तियारले जनाएको छ । बालुवाटारको १ सय १३ रोपनी जग्गा २०२१ सालदेखि भूमाफियाहरुले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न अदालतमा मुद्दा चलिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update