अख्तियारले मुद्दा दायर गरेपछि अभियुक्त पाण्डेले छतबाट फदालेर आत्महत्या गरे

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी पदपूर्ति प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका १० जना अभियुक्तमध्ये रामबहादुर पाण्डे (क्षत्री)ले आत्महत्या गरेका छन्।
कालिमाटी प्रहरी प्रभावका अनुसार, पाण्डेले बिहीबार बिहान ११ बजेतिर त्रिपुरेश्वरस्थित एक भवनको छैटौैं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।
त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेलसहित १० जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि उक्त मुद्दामा मुछिएका पाण्डे कानूनी परामर्श लिन त्रिपुरेश्वरस्थित दुबेदी लफर्ममा पुगेका थिए।
लफर्ममा कानूनी परामर्श लिन पुगेका ६७ वर्षीय पाण्डेले आफ्ना विरुद्ध भ्रष्टाचार मुद्दा लागेपछि त्यसबाट परेको मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको अनुमान गरिएको छ।
लम्जुङ स्थायी घर भएर कीर्तिपुरमा बसोबास गर्दै आएका पाण्डे यसअघि नै उमेर हदका कारण सेवा निवृत्त भएका थिए।
तर, त्रिवि सेवा आयोगका पदाधिकारीहरुले उनलाई परीक्षार्थीको उत्तरपुस्तिका जाँच्ने जिम्मा दिएका थिए। जसमा पदाधिकारी र आयोगका उच्च पदस्थ कर्मचारीको निर्देशन अनुसार अंक तलमाथि पारेको आरोप लागेको थियो।
सेवा आयोगले प्रकाशन गरेका विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क नै फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीका आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको आरोपमा अख्तियारले सेवा आयोगका अध्यक्ष शर्मा, सदस्य पोखरेलसहत १० जनाविरुद्ध केहि दिनअघि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
यसरी परीक्षामा अनियमितता गरेको आरोपमा मुद्दा खेप्नेहरुको सूचिमा सेवा आयोगका प्रशासन प्रमुख पर्शुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र राम बहादुरपाण्डे क्षत्री रहेका छन्।
अभियुक्तले विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकामा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ वटा पदको लिखित परीक्षा सञ्चालनका क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेका थिए।
अख्तियारका अनुसार शाखा अधिकृत पदका लागि कूल पदसङ्ख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये छ जनाको उत्तर पुस्तिकामा शङ्कास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएका थिए।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय