हिमाल दैनिक
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सहकर्मीमाथि हातपात र कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । गएराति दाङका एक जना कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई आक्रमण गरेको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । सबै स्वास्थ्यकर्मीले काम छाडेर दोषीमाथि तत्काल कारवाही हुनुपर्ने माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनका कारण अस्पतालको कोभिड वार्डको उपचार प्रभावित भएको छ । विरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । अस्पतालका स्वास्थ्यकर्मीहरुले यस्तो घटना घट्न नदिन दोषीलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका भाई मान बहादुर रावत लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । यसैबीच भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात गरेको आरोपमा पक्राउ परेका ३ जना बिरूद्द ज्यानमार्ने उधोगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावतसहित तीन जना बिरुद्ध ज्यानमार्ने मुद्धा दर्ता गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update