हिमाल दैनिक
कुनै पनि नेपाली नागरिकलाई कोरोनाको खोप अभाव हुन दिदैनौ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
umesh-shresth
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई कोरोनाबिरुद्धको खोप अभाव हुन नदिने दावी गरेको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा नवनियुक्त स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले अनुदान वा खरिद गरेर खोपको व्यवस्था गर्ने बताएका हुन् । उनले अनुदानका लागि सम्झौताको तयारी भइरहेको पनि बताए । राज्यमन्त्री श्रेष्ठले तेस्रो लहरको संक्रमणमा निःशुल्क उपचार गर्ने गरी आफूले सेवामूलक अस्पताल खोल्ने दाबी पनि गरे । उनले अहिलेको पहिलो प्राथमिकताका भनेको खोप भएकाले कम्तीमा पनि ६० प्रतिशत जनतालाई खोप लगाउनुपर्ने बताए । कोरोनाको तेश्रो लहरको जोखिमको तयारी पनि सुरु भइसकेको उनले बताए । त्यस्तै मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोरोनाको तेश्रो लहरको जोखिम कायमै रहेको सवै सचेत हुनुपर्ने बताए । कोरोना केहि संख्यामा घटेको देखेपछि केहि समयपछि बढ्न सक्ने आकलन रहेको उनको भनाई छ । उनले प्रयाप्त खोपका लागि सरकारले सवै बिकल्पलाई खुल्ला राखेको जिकिर गरे । बैठकमा सांसदहरुले सवै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्ने, संक्रमितको उपचार समान रूपमा हुनुपर्ने बताएका थिए । मन्त्रालयले चैतसम्ममा ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जनाएको छ भने आगामी मंसिरसम्म २ लाख नयाँ संक्रमित थपिने समेत प्रक्षेपण पनि मन्त्रालयले गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update