हिमाल दैनिक
मणिपाल मेडिकल कलेज र सरकारबीचको सम्झौता उपलब्ध गराउन सरकारलाई निर्देशन
manipal-hospital
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज र सरकारबीच भएको सम्झौता मगाउने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सरकार र मेडिकल गुप्रबीच भएको सम्झौता समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो । समितिले सम्झौता अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने समिति सभापति जयपुरी घर्तीले जानकारी दिईन । त्यसअघि बैठकमा सांसदहरुले मेडिकल कलेज किनबेच भएको बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । सांसद खगराज अधिकारीले सम्झौताको प्रति मगाएर समितिले अध्ययन गर्नुपर्ने बताए । उनले मणिपाललाई शेयर बेच्ने अधिकार नरहेको भन्दै यस बिषयमा आएका समाचारहरुका बारेमा सरकारले तथ्य सार्वजनिक हुनुपर्ने उल्लेख गरे । सांसद मानबहादुर विश्वकर्माले मणिपाल समूहले चलाउन नसक्ने भए मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे । उनले सरकारसंग भएको सम्झौताका बारेमा शिक्षा मन्त्रालयले स्पष्ट पार्नुपर्ने बताए । बैठकमा शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले मेडिकल कलेज बिक्रि भएकोबारे आफुहरूलाई कुनै जानकारी नभएको बताए । उनले ४९ बर्षका लागि भएको सम्झौतामा बिदेशी लगानीमा सञ्चालित मेडिकल कलेज भएको उल्लेख गरिएको र अहिले पनि कायम रहेको जिकिर गरे । त्यस्तै बैठकले चीन, जापान लगायतका देशमा कोभिड–१९ का कारण उच्च शिक्षा लिन जान नपाएका विद्यार्थीहरूलाई पठाउनका लागि कूटनीतिक पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले सन् २०१५ र १६ औँ ब्याचका चीनमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update