हिमाल दैनिक
नेपाली कांग्रेसले दशकौँदेखि आयोजना गर्दै आएको कोजाग्रत पूर्णिमाको दिनको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। वि.सं. २०३३ सालमा पार्टीका संस्थापक नेता बी.पी. कोइराला भारत निर्वासनबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा गर्दै आएकोमा यसवर्ष उक्त दिन विशेष कारणबस नमनाउने निर्णय गरेको हो। खासगरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन (असोज २३ गते) नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएको कारण यस वर्षकोे असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने जानकारी कांग्रेस पार्टी मुख्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत दिएका छन्। बी.पी. कोइरालाको निधन पश्चात पार्टी सभापतिले चियापानको आयोजना गर्दै आएकोमा बेला बखतमा कहिले शीर्ष नेताहरुको निधनमा त कहिले कोरोना महामारीका कारण स्थगित हुने गरेको थियो। यस वर्ष भने पूर्णिमाकै दिन उम्मेदवारी दर्ताको कार्यतालिका परेपछि पार्टीले उक्त दिन चियापान कार्यक्रम नगर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update