हिमाल दैनिक
प्रतिनिधि सभाको समानुपातिक तर्फ ६ दलको भागबण्डा, एमाले र कांग्रेसलाई ठूलै भाग
PR
प्रत्यक्ष तर्फको निर्वाचन परिणाममा दोस्रो स्थानमा रहेको नेकपा एमाले प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणनामा पहिलो स्थानमा रहेको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको जारी मतगणनाको आइतबार अपरान्ह २ बजेसम्म भएको ८५ लाख ८७ हजार मतगणना हुँदा एमालेले २३ लाख ६४ हजार अर्थात २७.५२ प्रतिशत मतसहित पहिलो स्थानमा रहेको छ भने उसलाई २२ लाख ६३ हजार अर्थात २६.३ प्रतिशत मत ल्याएको नेपाली कांग्रेसले पछ्याइरहेको छ। यसैगरी नेकपा माओवादी केन्द्रले ९ लाख ८४ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ४० हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ९४ हजार तथा जनता समाजवादी पार्टीले २ लाख ९७ हजार मत प्राप्त गरेका छन्। माथि उल्लेखित ६ दलले मात्रै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र त्यसका आधारमा तय गरिएको निर्देशिकामा उल्लेखित थ्रेसहोल्ड कटाउन सफल देखिएका छन् भने एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन संघर्षरत छ। अहिलेसम्मको मतगणना र परिणामका आधारमा नेकपा एसले २ लाख ३३ हजार मत अर्थात करिब २.७ प्रतिशतको हाराहारीमा पुर्याएपनि अब गणना गर्न बाँकी रहेको मतबाट त्यो आवश्यक प्रतिशत जुटाउने सम्भावना क्षिण हुँदै गएको छ। यसरी ऐनको व्यवस्था अनुसार, कुल सदर मतको तीन प्रतिशत मत कटाउने दलहरुबीच सेन्टलग मेथोडका आधारमा प्रतिनिधि सभा तर्फको समानुपातिक सिट बाँडफाँट गर्दा अहिलेसम्म एमालेले सबैभन्दा बढी अर्थात ३६ सिट पाउन सक्ने सम्भावना देखिएको छ। अहिलेसम्मको मतभारका आधारमा कांग्रेसले एमाले भन्दा २ सिट कम अर्थात ३४ सिट, माओवादीले १५, स्वतन्त्र पार्टीले १४, राप्रपाले ७ र तीन प्रतिशत मत कटाएको जनता समाजवादी पार्टीले ४ सिट पाउने सम्भावना देखिएको छ। यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ एमाले, कांग्रेस, माओवादी, तत्कालिन जसपा र लोसपाले तीन प्रतिशत मत कटाएबापत ११० सिट मतभारका आधारमा बाँडफाँट गरेका थिए। तर, अहिले भर्खरै दर्ता भएको स्वतन्त्र पार्टीदेखि राप्रपा र उपेन्द्र यादवको जसपाले पनि उक्त सिटमा दाबी गर्ने बलियो आधार बनाएका छन्।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update