हिमाल दैनिक
कर्णाली प्रदेशको समानुपातिक १६ सिटमा एमाले-कांग्रेसलाई ५-५, माओवादीलाई ४, नेमकिपा नील
pradesh seat (13)
कर्णाली प्रदेश सभामा समानुपातिक तर्फको १६ सिटमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित पाँच दलले स्थान सुरक्षित गरेका छन्। अहिलेसम्म गणना भएको सदरमतमा सबैभन्दा बढी मत पाएका एमाले र कांग्रेसले पाँच, पाँच र माओवादीले ४ सिट पाएपनि ऐन र निर्देशिकामा उल्लेखित थ्रेसहोल्ड कटाएको नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले कुनै सिट नपाउने भएको छ। हालसम्म गणना भएको कर्णाली प्रदेशको समानुपातिक तर्फको कुल सदरमत ५ लाख ७७ हजार ८ सय २९ को १.५ प्रतिशत थ्रेसहोल्ड कटाउन सफल भएको नेमकिपाको मत भन्दा बढी भागफलमै अरु दलले सिट कब्जा गरेपछि उक्त मत खेर जाने अवस्थामा पुगेको हो। नेमकिपाले अहिलेसम्म उक्त प्रदेशमा ८,९९३ मत अर्थात १.५५ प्रतिशत भएपनि उसको भागमा कुनै सिट आएन। यसैगरी २५ हजार मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी र ३५ हजार मत कटाएको नेकपा एकीकृत समाजवादीले पनि जम्मा एक एक सिटमा चित्त बुझाउनु पर्ने भएको छ। समानुपातिक तर्फको कुल १६ सिटमध्ये अहिलेसम्म गणना भएको मतको आधारमा १ लाख ८३ हजार ९ सय ५० मत पाएको नेकपा एमाले र १ लाख ७० हजार ७ सय ७६ मत पाएको नेपाली कांग्रेसले क्रमशः पाँच पाँच सिट पाउँदा तेस्रो स्थानमा रहेको नेकपा माओवादीले १ लाख ३७ हजार ६ सय २९ मतको मतभार संख्याका आधारमा ४ सिट पाउने भएको छ। कर्णाली प्रदेशमा समानुपातिक तर्फको चुनावमा नेमकिपासहित ६ दलले थ्रेसहोल्ड कटाएपनि सिट विभाजनमा अपनाइएको भाजक र त्यसबाट आएको भागफल बमोजिम नेमकिपाको मत न्यून भएपनि सिट नपाउने स्थितिमा पुगेको हो। तथ्याङक विभाजबाट निर्वाचन आयोगमा समानुपातिक सिट विभाजन कार्यका लागि काजमा गएका देबेन्द्र कारञ्जीतले थ्रेसहोल्ड कटाउँदैमा सबैले सिट अनिवार्य पाउनै पर्छ भन्ने नभएको जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update