हिमाल दैनिक
निधि–सिके राउत भेटवार्ताः संघ र प्रदेशमा सहकार्य गर्न सकारात्मक
315898370_2547831198692065_104098148672498294_n
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिला पटक सहभागी भएर राष्ट्रिय पार्टी बन्न सफल भएका जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले आफू लोकतन्त्रमा विश्वास गर्ने भएको कारण केन्द्र र प्रदेशमा नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्न सकारात्मक रहेको बताएका छन्। नेपाली कांग्रेसका पूर्व सभापति एवं नेता विमलेन्द्र निधिसँग बुधबार निधि निवास बानेश्वरमा भेटवार्ताका लागि पुगेका राउतसँगको कुराकानीका क्रममा राउतले संघ र प्रदेशमा सत्ता गठबन्धन गरी अघि बढ्न सकारात्मक रहेको बताएका हुन्। निधिको निजी सचिवालयले अपरान्ह फेसबुकमार्फत दिएको जानकारी अनुसार, बुधबार अपरान्ह भएको भेटवार्ताका क्रममा निधिले पहिलो पटकमा नै उनी र उनको दलले संघ र प्रदेशमा राम्रो संख्यामा जित निकाल्न सकेकोमा बधाई दिएका थिए। ‘भेटघाटका क्रममा निधिले डा. सिके राउतलाई यो गठबन्धनमा सहभागी हुन र नेपाली कांग्रेससँग संघ र प्रदेशमा सरकार गठनमा सहभागी हुन प्रस्ताव गर्नु भयो। उक्त प्रस्तावमा डा. सिके राउत आफू पूर्ण सकारात्मक रहेको बताउनु भयो,’ सचिवालयले जारी फेसबुक सन्देसमा भनेको छ। यसका अतिरिक्त राउतले आफू शुरुदेखि नै शान्ति र लोकतन्त्रमा विश्वास गर्ने गरेको बताउँदै आफ्नो पार्टी कांग्रेस र उसको नेतृत्वमा रहेको गठबन्धनसँग केन्द्रदेखि प्रदेश तहसम्मै सहकार्य गर्न तत्पर रहेको जानकारी नेता निधिलाई दिएको बताइएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक भाग लिएका राउतको पार्टीले संघमा प्रत्यक्ष तर्फ राउत र समानुपातिक तर्फक करिब ५ सिट तथा मधेस प्रदेशमा प्रत्यक्ष तर्फ ६ र समानुपातिक तर्फ ७ सिटमा जित निकाल्दैछ। सरकार गठनको प्रक्रियामा केही सिटको तलमाथि हुन सक्ने सम्भावनाले गठबन्धन दलका नेताहरुलाई सताइरहेको बेला राउन र निधिको भेटवार्ताले राहतका अनुभूति दिनसक्ने अडकालबाजी गरिएको छ।    
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update