हिमाल दैनिक
समानुपातिकतर्फ कांग्रेसको भन्दा १ लाख बढी मत ल्याएको एमालेलाई मात्र १ सिट ज्यादा!
seat alot
प्रतिनिधि सभामा समानुपातिक तर्फका लागि भएको निर्वाचनको अहिलेसम्मको मतगणनामा ६ दलले आफ्नो स्थान सुरक्षित गरेका छन्। बिहिबार बिहान ११ बजेसम्म १ करोड २ लाख ४८ हजार १ सय ९७ मत मतगणना गर्दा प्रतिनिधि सभामा नेकपा एमालेले २७ लाख ३१ हजार २ सय ८२ मतका साथ ३३ सिटमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ। एमाले भन्दा झण्डै १ लाख २७ हजार मत कम पाएको नेपाली कांग्रेसले २६ लाख ३ हजार ३८ मत ल्याएर एमालेको भन्दा केबल एक सिट कम अर्थात ३२ स्थानमा आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ। तेस्रो र चौथो स्थानमा रहेर मत पाएका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी दुबैले समानुपातिक तर्फ भने समान सिट संख्या अथर्कात क्रमशः १४÷१४ सिट हाँसिल गरेका छन्। उनीहरुमध्ये माओवादीले अहिलेसम्म ११ लाख ५५ हजार ४५ मत पाएको छ भने स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ७ सय ४० मत प्राप्त गरेको निर्वाचन आयोगको वेभसाइटमा उल्लेख छ। त्यसैगरी पाँचौ स्थानमा रहेर ५ लाख ८१ हजार १ सय ३ मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिटमा आफ्नो स्थान सुरक्षित गर्दा जनता समाजवादी पार्टी, नेपाल र सिके राउतको जनमत पार्टीले समान ५÷५ स्थानमा आफूलाई सुरक्षित राखेका छन्। आयोगका अनुसार, जसपाले ४ लाख १६ हजार १ सय ८६ मत पाएको छ भने जनमत पार्टीले ३ लाख ८६ हजार ९६ मत प्राप्त गरेको छ। सत्ता गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्मको गणनामा २ लाख ९२ हजार ६ सय ३ मत अर्थात करिब २.८५ प्रतिशत प्राप्त गरेपनि निर्वाचन ऐन र नियमावलीमा उल्लेखित न्यूनतम ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिक तर्फ कुनै स्थान सुरक्षित गर्न र राष्ट्रिय पार्टीको मान्यता हाँसिल गर्न सकिरहेको छैन। अहिलेसम्मको गणनामा नेकपा एसलाई थ्रेसहोल्ड कटाउन १४ हजार ८ सय ४३ मत अपुग भइरहेको छ। यदी गणना गर्न बाँकी रहेका केही जिल्लासहित दोलखा, स्याङजा निर्वाचन क्षेत्र नम्बर २ र बाजुराको मतगणनामा उक्त पार्टीले आवश्यक मतको जुगाड गर्न सकेन भने समानुपातिक तर्फ नेकपा एसको हिस्सा रहने छैन। पहिलो र दोस्रो संविधान सभा सदस्य निर्वाचनमा अपनाइएको मोडिफाइड सेन्टलग म्याथोडलाई ०७४ सालमा गरिएको निर्वाचन ऐन संशोधन पश्चात केबल सेन्टलग म्याथोडका आधारम सिट बाँडफाँट गर्दा पछिल्ला दुबै निर्वाचनमा साना दल भन्दा ठूला दललाई नै सिट भागबण्डामा फाइदा पुग्नुका साथै साना दलले पाएको मत अत्याधिक खेर जाने स्थिति बनेको छ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update