हिमाल दैनिक
प्रदेश १ को ३७ सिटमा एमाले, कांग्रेससहित ६ दलबिच भागबण्डा
Pradesh 1 ko seat alot
मंसिर ४ गते सम्पन्न १ नम्बर प्रदेशको प्रदेश सभा सदस्यका लागि भएको समानुपातिक तर्फको जारी मतगणनाको अहिलेसम्मको परिणाम अनुसार, उक्त प्रदेशमा नेकपा एमालेले सबैभन्दा धेरै १५ सिटमा आफ्नो स्थान सुरक्षित गरेको छ। बिहिबार अपरान्ह १ बजेसम्म भएको १८ लाख १३ हजार २ सय ६५ मतगणनामा एमालेले सबैभन्दा बढी अर्थात ६ लाख ६२ हजार ७ सय ४ मत प्राप्त गर्दै प्रदेश सभामा रहेको ३७ समानुपातिक सिटमध्ये १५ सिटमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो। यसैगरी नेपाली कांग्रेसले ५ लाख ३२ हजार ८ सय ४५ मत प्राप्त गर्दै प्रदेश सभामा १२ सिटमा आफ्नो स्थान सुरक्षित गरेको छ भने, १ लाख ९१ हजार ७ सय ७१ मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र १ लाख ७७ हजार ७ सय २१ मत पाएको नेकपा माओवादी केन्द्रले समान चार÷चार सिटमा आफूलाई चित्त बुझाएका छन्। प्रदेश सभा सदस्य ऐन र त्यसमा व्यवस्था गरिएको थ्रेसहोल्ड १.५ प्रतिशत मत कटाउन सफल जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः एक÷एक स्थानमा आफ्नोे प्रतिनिधित्व कायम गराउन पाउने भएका छन्। यी दुबै दलमध्ये जनता समाजवादी पार्टी नेपालले ५९,४८५ मत तथा नेकपा एसले ५४,८३१ मत पाएका छन्। यसरी प्रदेश १ को समानुपातिक मततर्फ थ्रेसहोल्ड कटाउन सफल रहेका यी ६ दलको प्राप्त मतलाई आयोगले तय गरेको निर्देशिकामा उल्लेखित विजोर अंकले भाग गर्दा एमालेको कुल मतलाई २९ अंकले भाग गरे आउने भागफल २१,८१७ भागफल बराबर १५ स्थान हुन आउँछ। कांग्रेसको कुल मतलाई २३ अंकले भाग गर्दा आउने २३,१६७ भागफल बराबर १२ सिट र राप्रपा र माओवादीको मतलाई क्रमशः ७ अंकले भाग गर्दा आउने भागफल राप्रपाको २७,३९५ तथा माओवादीको २५,३८८ भागफल बराबर चार÷चार सिट मिल्ने अवस्था छ। उता ५९,४८५ मत पाएको जसपा र ५४,८३१ मत पाएको नेकपा एसको मतलाई विजोर अंकले भाग गर्दा आउने कुनै पनि भागफल बराबर सिट नआउने अवस्थामा दुबै दलको प्राप्त मतका आधारमा एक÷एक सिट मात्रै पाउने अवस्था बनेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update