मधेस प्रदेशको ४३ सिटमा कांग्रेस, एमालेसहित १० दलको लुछाचुँडी
मधेस प्रदेश सभामा समानुपातिक तर्फको ४३ सिटका लागि भएको निर्वाचनमा अहिलेसम्म प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमालेसहित १० दलले भागबण्डा पाउने भएका छन्।
मंसिर ४ गते सम्पन्न निर्वाचनको जारी मतगणनामा बिहिबार अपरान्ह २ बजेसम्म भएको २० लाख ७५ हजार २ सय २४ मत गणना हुँदा पहिलो पटक निर्वाचनमा भाग लिएर पनि आश्चर्यजनक ढंगले प्रदेश र संघतर्फ केही प्रत्यक्ष सिटसहित थ्रेसहोल्ड कटाउन सफल सिके राउतको जनमत पार्टीले समेत समानुपातिकतर्फ हिस्सा पाएको छ।
अहिलेसम्मको मतगणना परिणामका आधारमा दलहरुले प्राप्त गरेको मतलाई निर्वाचन ऐन र निर्देशिकामा उल्लेखित विजोर भाजकले भाग गर्दा सबैभन्दा धेरै सिट कांग्रेसले ९ स्थान सुरक्षित गरेको छ।
प्रत्यक्ष तर्फको ६४ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी १५ सिटमा जित निकालेको नेकपा एमालेले समानुपातिक तर्फ भने कांग्रेसको भन्दा जम्मा १ सिट कम अर्थात ८ स्थान पाउने सम्भावना देखिन्छ। कांग्रेसले प्रत्यक्ष तर्फ भने जम्मा १३ सिट जितेको थियो।
यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिक तर्फ ७ सिट जितेको छ भने प्रत्यक्षमा ९ सिट जितेको जनता समाजवादी पार्टी नेपालले पनि मधेस प्रदेश सभाको समानुपातिक तर्फ ७ सिट नै जित्ने सम्भावना छ।
यदी अहिलेको मत गणनाको अनुपातमा तात्विक फेरबदल भएन भने प्रत्यक्ष तर्फ ४÷४ सिट जितेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले क्रमशः ४ र ३ सिट समानुपातिक तर्फ जित्ने छन्।
प्रत्येक्षतर्फ ७ सिट जित निकालेको लोकतान्त्रिक समाजवादीले भने समानुपातिक तर्फ जम्मा २ सिटमा चित्त बुझाउनु पर्ने अवस्था देखिएको छ भने १.५ थ्रेसहोल्ड कटाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले क्रमशः १÷१ स्थानमा आफ्नो सिट सुरक्षित गरेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्


