हिमाल दैनिक
लुम्बिनीमा प्रदेश सरकार बनाउन गठबन्धनलाई सिके राउत र स्वतन्त्रकै आड चाहिने!
Lumbini Province seat
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले प्रदेश सरकार गठन गर्न सिके राउतको जनमत पार्टी र स्वतन्त्र सांसदको सहारा लिनु पर्ने स्थिति उत्पन्न भएको छ। हालै सम्पन्न निर्वाचनको पछिल्लो मतगणना परिणाम अनुसार, प्रत्यक्ष तर्फ ५२ र समानुपातिक तर्फको ३७ सिट गरी कुल ८७ सिटमध्ये सत्ता गठबन्धनमा सहभागी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी, (लोसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि चाहिने साधारण बहुमत ल्याउन नसकेपछि अरुको भरमा पर्नु पर्ने स्थिति देखिएको हो। समानुपातिक तर्फ गणना भएको १८ लाख ८७ हजार ७८ मतमध्ये सबैभन्दा बढी नेकपा एमालेले ५ लाख ७० हजार ९ सय २१ मत प्राप्त गरेको छ भने, नेपाली कांग्रेसले एमालेको भन्दा ७१ हजार कम भोट अर्थात ४ लाख ९९ हजार ९ ८६ मत प्राप्त गरेको छ। निर्वाचन ऐन र नियमावलीमा उल्लेखित मत भार विभाजनको सिद्धान्त बमोजिम यी दुई ठूला दलले समानुपातिक तर्फको ३७ सिटमा क्रमशः एमालेले ११ सिट तथा कांग्रेसले १० सिट आफ्नो पोल्टामा पार्न सक्नेछन्। प्रत्यक्ष तर्फको ५२ सिटका लागि भएको निर्वाचनमा पनि यी दुई दलबीच समानुपातिकमा जस्तै एक सिटको मात्रै अन्तर छ। जसअनुसार, प्रत्यक्ष एमालेले १८ सिट जित्दा कांग्रेसले १७ सिटमा जित हाँसिल गरेको छ। यसरी प्रत्यक्ष र समानुपातिक तर्फ प्राप्त सिट संख्याको आधारमा लुम्बिनी प्रदेशको पहिलो ठूलो दलको भागमा २९ सिट रहेको छ भने दोेस्रो ठूलो दल कांग्रेसले २७ सिटमा आफ्नो स्थान सुरक्षित बनाएको छ। यसैगरी प्रत्यक्ष तर्फ ५ सिटमा खुम्चिन पुगेकोे नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ १ लाख ९८ हजार ४ सय ५० मत प्राप्त गर्दै ४ सिट थपेर जम्मा ९ सिटमा चित्त बुझाउनु परेको छ। प्रत्यक्ष तर्फ दुई÷दुई सिट जित निकालेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीले समानुपातिक तर्फ पनि क्रमशः १ लाख २७ हजार ४ सय ५२ र १ लाख २५ हजार ५ सय २१ मत प्राप्त गर्दै समान दुई÷दुई सिट जोड्दै चार, चार सिट हात पारेका छन्। प्रत्यक्ष तर्फ एक सिट मात्रै जितेको जनमत पार्टीले समानुपातिक तर्फ ८१ हजार ६ सय ५ मत प्राप्त गर्दै दुई सिट थपेर कुल ३ सिट पुर्याएको छ। प्रत्यक्ष तर्फ दुई सिट जितेको जनता समाजवादी पार्टी, नेपालले भने समानुपातिक तर्फ केबल ६० हजार ८ सय ८६ मत ल्याउँदै समानुपातिकको एक मात्र सिट थप्दै कुल ३ सिटको उपस्थिति कायम गराएको छ। दुई सिट प्रत्यक्ष तर्फ जितेको लोकतान्त्रिक समाजवादी पार्टीले भने समानुपातिक तर्फ मुस्किलले ३७ हजार ६ सय ३१ मत ल्याएर एक सिटमा चित्त बुझाउनु परेको छ। यसरी प्रत्यक्ष र समानुपातिक तर्फको सिट जोड्दा लोसपाको जम्मा तीन सिट मात्रै हुन आउँदछ। यसैगरी सत्ता साझेदार दल नेकपा एस र राष्ट्रिय जनमोर्चाले प्रत्यक्ष तर्फ कुनै पनि सिट नजितेपनि समानुपातिक तर्फ ऐन र निर्देशिका बमोजिम १.५ प्रतिशत थ्रेसहोल्ड टुप्लुकक कटाउँदै एक÷एक सिटमा थन्किएका छन्। यसका अतिरिक्त उक्त प्रदेशका तीन जिल्लाका तीन प्रदेश क्षेत्रमध्ये रुकुम पूर्वको (क) र रोल्पा (ख)मा माओवादीबाट बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका सरुल पुन र दिपेन्द्रकुमार पुन मगर निर्वाचित भएका छन् भने नबलपरासी पश्चिमको प्रदेश (क) बाट स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन्। यसरी लुम्बिनी प्रदेश सभामा रहेका ८७ सदस्यमध्येबाट आगामी दिनमा प्रदेश सरकार गठन गर्नका लागि सत्ता गठबन्धनका लागि तीन सिट कमि देखिएको छ। त्यस अवस्थामा स्वतन्त्र सदस्यका रुपमा निर्वाचित सरुल र दिपेन्द्रले पुनः माओवादीमै प्रवेश गरेको खण्डमा गठबन्धनलाई बहुमत सिद्ध गर्न अझै एक मतको अभाव हुने छ। यदी पछिल्लो समय विकसित हुँदै गएको राजनीतिक घटनाक्रमले सकारात्मक दिशा पक्रिएर संघीय संसदमा पहिलो पटक करिब ६ सिटसहित उपस्थिति जनाउँदै गरेका जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय सरकार गठनमा सत्ता गठबन्धनलाई साथ दिएमा लुम्बिनी प्रदेशमा पनि गठबन्धनको पक्षमा सहज बहुमत पुग्ने स्थिति बन्ने छ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update