हिमाल दैनिक
सुदूरपश्चिममा सत्तागठबन्धनको प्रचण्ड बहुमत, कांग्रेस पहिलो, एमाले तेस्रो स्थानमा
Sudur Paschim
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस पहिलो ठूलो दल बन्न सफल भएको छ। हालै सम्पन्न निर्वाचनको पछिल्लो मतगणना परिणाम अनुसार, प्रत्यक्ष तर्फको ३२ सिटमध्ये १२ सिटमा विजयी हुन सफल कांग्रेसले समानुपातिक तर्फ एमालेभन्दा झिनो मतअन्तरले पछाडि पर्दा पनि एमालेकै सरह ७ सिटमा आफ्नो स्थान सुरक्षित गरेपछि प्रदेश सभामा कुल १९ सदस्यसहित पहिलो दलको रुपमा रहन सफल भएको हो। यसैगरी समानुपातिक तर्फ सबैभन्दा बढी मत ल्याएको नेकपा एमालेले निर्वाचन ऐनको व्यवस्था बमोजिम २१ सिट विभाजन गर्दा ७ सिटमा चित्त बुझाउनु परेको छ। यसअघि सम्पन्न प्रत्यक्ष तर्फको निर्वाचनमा एमालेले ३ सिट मात्र जितेको थियो। सत्ता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले प्रत्यक्ष तर्फ ८ सिट जित्न सफल भएपनि समानुपातिक तर्फ न्यून मत ल्याउँदा केबल तीन सिट बढाएर प्रदेश सभामा कुल ११ सदस्यसहितको उपस्थिति जनाएको छ। यसका बाबजूद सुदूरपश्चिम प्रदेशमा कांग्रेसपछि माओवादी दोस्रो ठूलो दल बनेको छ भने उसको भन्दा एक सिट कम भएको एमाले तेस्रो दलका रुपमा रहने छ। प्रत्यक्ष तर्फ ५ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा भने जम्मा २ सिट मात्र हाँसिल गरेपछि उक्त दलको कुल सिटसंख्या ७ पुगेको छ। प्रत्यक्ष तर्फ एमालेसरह तीन सिट जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फ अत्यन्त कम मत पाएपछि मुस्किलले एक स्थान पाएको छ। यसरी उसको प्रदेश सभामा कुल ४ सदस्य रहने छन्। प्रत्यक्ष तर्फ कुनै सिट नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नेकपा एसकै सरह १ सिट समानुपातिकमा हात पार्दै प्रदेश सभामा आफ्नो उपस्थिति जनाउने अवसर पाएको छ, उक्त प्रदेशमा एक जना स्वयतन्त्र सदस्यले प्रत्यक्षमा जित निकालेका छन्। यसरी कुल ५३ सदस्यीय प्रदेश सभामा आगामी प्रदेश सरकार गठनका लागि केन्द्रमा जस्तै कांग्रेस, माओवादीसहितको गठबन्धनले सहजै सरकार गठन गर्न सक्ने स्थिति बनेको छ। सामान्य बहुमतका लागि २७ सदस्यको समर्थन चाहिने उक्त प्रदेशमा कांग्रेस र माओवादी मात्रै मिल्दा पनि प्रदेश सरकारको पक्षमा ३० सदस्यको समर्थन रहन सक्छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update