हिमाल दैनिक
सत्ता गठबन्धनलाई सरकार बनाउन २ सांसद अपुग, प्रभु साह र सिके राउतको हातमा सत्ताको चाबी!
House of representatives seat allot
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो तथा करिब करिब अन्तिम नतिजा अनुसार, सत्ता गठबन्धनले झिनो बहुमत हाँसिल गरेको छ। प्रत्यक्ष तर्फको १६५ र समानुपातिक तर्फको ११० सिटगरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फको सिट संख्याका आधारमा नेपाली कांग्रेसले सबै भन्दा बढी ८९ सिटसहित पहिलो दल बन्न सफल भएको छ। पाँच वर्ष अघि प्रत्यक्ष तर्फ तेस्रो स्थानमा अर्थात जम्मा २३ सिटमा जित निकालेको कांग्रेसले हालै सम्पन्न निर्वाचनमा गठबन्धनमा सहभागी दलहरुको साथ लिएर ५७ सिट जितेको छ भने समानुपातिक तर्फ एमाले भन्दा झण्डै सवालाख मत कम ल्याउँदै जम्मा ३२ सिटमा चित्त बुझाएको छ। गठबन्धनमा सहभागी नेकपा माओवादीले प्रत्यक्ष तर्फ १८ र समानुपातिकतर्फ १४ गरी पाएको ३२ सिटका अतिरिक्त प्रत्यक्षमा मात्रै १० सिट जितेको नेकपा एकीकृत समाजवादी, ४ सिटमा खुम्चिएको लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको एक सिटसहित गठबन्धन दलको पक्षमा १३६ सदस्य हुने अवस्था छ। यदी यो गठबन्धन कायम रहेर सरकार गठन प्रक्रियामा सहमति गर्दै अघि बढेको अवस्थामा उसलाई चाहिने आवश्यक २ सिट एमाले छाडेर गठबन्धनको साथ र समर्थनमा स्वतन्त्र सदस्यको रुपमा निर्वाचित प्रभु साह र उनका एक सदस्य पनि जोडन सक्छन्। त्यस अवस्थामा गठबन्धनलाई सरकार गठनको लागि चाहिने म्याजिक नम्बर टुप्लुक्क पुग्ने छ। यसका अतिरिक्त नयाँ दलका रुपमा स्थापित हुन सफल सिके राउतले गठबन्धनका नेताहरुसँग गरेको भेटवार्ता बमोजिम सरकारमा सहभागी हुन सकेमा गठबन्धनको पक्षमा ६ मत नै बढी अर्थात १४४ सदस्यको साथ हुने छ। यसका अतिरिक्त निर्वाचनको समिपमा सत्तागठबन्धनबाट अलग्गिएर नेकपा एमालेसँग तालमेल गर्न पुगेका जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पनि चुनावी नतिजासँगै एमालेसँगको गठबन्धनको औचित्य समाप्त भएको भन्दै सत्ता गठबन्धनसँग नजिकिने बाटो खुला गरेका छन्। उता विपक्षी गठबन्धनको नेतृत्व गर्दै चुनावमा होमिएको नेकपा एमालेले भने प्रत्यक्ष तर्फ ४४ सिटमा जित निकालेपनि समानुपातिक तर्फ कांग्रेसको भन्दा करिब १ लाख २७ हजार मत बढी ल्याएर एमालेले ३४ सिट आफ्नो पोल्टामा पार्न सफल भएको छ। यसरी प्रत्यक्ष र समानुपातिक गरी उक्त दलले ७८ सिटसहित प्रतिनिधि सभामा दोस्रो दलको रुपमा स्थापित भएको छ। अहिलेसम्म ७६ जिल्लाको समानुपातिक तर्फको मत सार्वजनिक भएपनि निर्वाचन आयोगले हिँजोमात्र प्रत्यक्ष तर्फको नतिजा सार्वजनिक भएको दोलखाको समानुपातिक तर्फको मत गणना गरी सार्वजनिक गर्न बाँकी नै छ। अघिल्लो निर्वाचनमा समानुपातिक तर्फ कांग्रेस र एमालेले पाएको मत यसपटक झण्डै ५ लाखको हाराहारीमा घटेपछि यी दुबै दलको अघिल्लो पटक प्राप्त गरेको समानुपातिक तर्फको सिट संख्यामा पनि कटौती भएको छ। पाँच वर्षअघिको चुनावमा एमालेले समानुपातिक तर्फ ४१ सिट र कांग्रेसले ४० सिट जितेका थिए। यसैगरी संसदमा तेस्रो ठूलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्रले प्रत्यक्ष तर्फ अघिल्लो निर्वाचनमा भन्दा ठिक आधा कम अर्थात १८ सिटमा चित्त बुझाउनु परेको छ भने, समानुपातिक तर्फ पनि अघिल्लो पटकको भन्दा तीन सिट कम अर्थात जम्मा १४ सिट हात पार्दै आगामी संसदमा ३२ सिटसहितको उपस्थिति जनाउँदैछ। केही महिना अघिमात्रै दल गठन गरेर चुनावी मैदानमा होमिएका टेलिभिजन प्रस्तोता एवं लगानीकर्ता रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापित दललाई चकित तुल्याउँदै प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ १३ सिटसहित २० सिट लिएर संसदमा उपस्थिति देखाउँदैछ। यसअघिको संसदमा प्रत्यक्ष तर्फमात्रै एक सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रत्यक्ष र समानुपातिक तर्फ गरी सात/सात सिट सुरक्षित गर्दै १४ सदस्यको उपस्थिति देखाउँदैछ। सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट जितेपनि समानुपातिक तर्फ थ्रेसहोल्ड कटाउन नसक्दा उसले राष्ट्रिय पार्टीको मान्यता समेत नपाउने अवस्था बनेको छ। उता मधेसवादी दलका रुपमा परिचित उपेन्द्र यादवको जनता समाजवादी पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले भने अनपेक्षित हार व्यहोर्दै यसपटकको संसदमा फितलो उपस्थिति देखाउँदैछन्। जसपाले प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ ५ सिट पाउँदैछ भने, प्रत्यक्षमा ४ सिट जितेको लोसपाले तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फ कुनै स्थान पाउन सकेन। रेशम चौधरीकी श्रीमतीले हालै खोलेको नागरिक उन्मुक्ति पार्टीले पनि प्रत्यक्ष तीन सिट जितेपनि प्रतिनिधि सभामा समानुपातिक तर्फ कुनै स्थान पाएन। मधेसमा चर्को नारा उठाएर राजनीतिक गतिविधिमा संलग्न सिके राउतको पार्टीले पनि प्रत्यक्ष तर्फ १ सिट जिते पनि समानुपातिक तर्फ आश्चर्यजनक ढंगले थ्रेसहोल्ड कटाउँदै समानुपातिकको ५ सिटमा स्थान सुरक्षित गर्दैछ। यसका अतिरिक्त चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रत्यक्ष जितेपनि समानुपातिकतर्फ कुनै स्थान नपाउँदा नेपाल मजदूर किसान पार्टीको पनि प्रत्यक्ष तर्फको एक सिट आएको छ। नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह र उनका एक समर्थकले रौतहटबाट स्वतन्त्र उम्मेदवारका रुपमा जित निकालेका छन्। उनीहरु दुबैलाई सत्ता गठबन्धनले साथ दिएको कारण यी दुबै सांसद आगामी दिनमा पुनः नेकपा माओवादीमै फर्किन सक्ने बलियो सम्भावना कायमै छ। यसैगरी कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका अमरेश सिंहसहित अर्का दुई जनाले पनि स्वतन्त्रबाट निर्वाचित भएपनि बर्दियाबाट निर्वाचित रेशम चौधरीका पिता स्वतन्त्रबाट नागरिक उन्मुक्ति पार्टीमै सहभागी हुन सक्ने बताइएको छ।  
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update