हिमाल दैनिक
बागमती प्रदेशमा सत्ता गठबन्धनको पकड, कांग्रेस पहिलो, एमाले दोस्रो दल बने
bamati ko result
बागमती प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा प्रकासित हुँदा नेपाली कांग्रेस प्रदेश सभामा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ। प्रत्यक्ष ६६ र समानुपातिक तर्फका ४४ सिटगरी कुल ११० सदस्यीय प्रदेश सभाको निर्वाचन पश्चात निर्वाचन आयोगले मंगलबार सम्पन्न गरेको मतगणनाको अन्तिम नतिजा अनुसार, यो प्रदेश सभामा कांग्रेसले प्रत्यक्ष तर्फ २५ र समानुपातिक तर्फ १२ गरी कुल २७ सिट हात पारेको छ। प्रदेश सभामा ठूलो दल बनेको कांग्रेसले आगामी सरकार गठनका लागि चाहिने स्पष्ट बहुमत नपाए पनि उसको नेतृत्वमा चुनावमा होमिएका दलहरु नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको सिट मिलाउँदा उक्त प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पक्कापक्की भएको छ। माओवादीले प्रत्यक्ष तर्फ १४ र समानुपातिक तर्फ प्राप्त मतको आधारमा जितेका ७ सिटसहित कुल २१ सदस्य प्रदेश सभामा तेस्रो ठूलो दलको रुपमा उपस्थित गराउँने छ भने नेकपा एसका प्रत्यक्ष तर्फका ५ र समानुपातिक तर्फका २ गरी ७ सदस्य रहने छन्। यसरी प्रदेश सरकार गठनका लागि आवश्यक ५६ सदस्यको संख्या गठबन्धनका सहयात्री दलहरु मिल्दा सहजै कट्ने देखिन्छ। यसैगरी विपक्षी गठबन्धनको नेतृत्व गदै चुनावमा गएको नेकपा एमालेले प्रत्यक्ष तर्फ १३ सिटमा जित निकालेपनि समानुपातिक तर्फ सबैभन्दा बढी मत ल्याएर १४ समानुपातिक सिट हात पारेको छ। यसरी प्रत्यक्ष र समानुपातिक तर्फको संख्या जोडेर एमालेले २७ सिट सहित प्रदेश सभामा दोस्रो ठूलो दलको हैसियत कायम गरेको छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ ६ सिटसहित कुल १३ सिटमा आफ्नो बलियो उपस्थिति देखाउँदैछ भने भक्तपुरमा मात्रै सिमित रहँदै आएको नेपाल मजदूर किसान पार्टीले प्रत्यक्ष र समानुपातिक तर्फ एक एक सिट जितेर जम्मा २ सदस्य उपस्थित गराउँदैछ। गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले लौरो चिन्ह लिएर मैदानमा उत्रिँदा जनताबाट अनपेक्षित साथ र समर्थन पाएपछि हौसिएर सोही चिन्ह लिँदै चुनावमा होमिएको हाम्रो नेपाल पार्टीले पनि प्रत्यक्ष र समानुपातिक तर्फ एक एक स्थानमा आफ्नो उपस्थिति देखाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update