हिमाल दैनिक
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएलगत्तै नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। विशेषगरी संघीय संसद र प्रदेश सभामा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले सिट बाँडफाँट गरी सम्बन्धित दलहरुलाई निर्वाचित सदस्यहरुको नामावली सिफारिस गर्न पत्राचार गरेपछि सत्तारुढ दल कांग्रेसले यसबारे छलफल पश्चात निर्णयमा पुग्न शनिबार अपरान्हका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो। कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिबार एक सूचना जारी गर्दै मंसिर २४ गते शनिबार अपरान्ह १ बजे बस्ने कार्यसम्पादन समितिको बैठकमा सम्पूर्ण पदाधिकारी तथा समितिका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार, कांग्रेसले संघीय संसदमा समानुपातिक तर्फ ३२ सिट पाएको छ भने, प्रदेश सभाको समानुपातिक तर्फ ६४ सिटमा आफ्नो स्थान सुरक्षित बनाएको छ। जसअनुसार, प्रदेश १ मा १२ सिट, मधेस प्रदेशमा ९ सिट, बागमती प्रदेशमा १२ सिट, गण्डकी प्रदेशमा ९ सिट, लुम्बिनी प्रदेशमा १० सिट, कर्णाली प्रदेशमा ५ सिट र सुदूरपश्चिम प्रदेशमा ७ सिटमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसरी प्राप्त सिट संख्यामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनमा उल्लेखित प्रावधान अनुसार, पार्टीको केन्द्रीय कार्यसमिति वा सो सरहको निकायले महिला ३३ प्रतिशत पुग्नेगरी जनसंख्याको अनुपातमा समावेशी समानुपातिक वितरणका आधारमा यसअघि निर्वाचन आयोगमा बुझाएको बन्द सूचिबाट निर्वाचित हुने सदस्यको नाम आयोग समक्ष सिफारिस गर्नु पर्नेछ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update