हिमाल दैनिक
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
visit-to-national-burns-center-airoli02
बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो । नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् । आज पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिनुभयो । भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो । नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो । आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला घाइते हुनुभएको थियो । हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो । नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update