हिमाल दैनिक
एमाले अध्यक्ष ओलीकै कारण पुरानो गठबन्धन व्यूँताउन बाध्य भयौँः प्रम दाहाल
Leaders with poudel
पुस १० गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सात दलीय सहमति गर्दै सत्ताको नेतृत्व लिएका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीकै कारण दुई महिना नपुग्दै उक्त गठबन्धनको विकल्प खोज्न बाध्य भएको खुलासा गरेका छन्। निर्वाचनपूर्व नेपाली कांग्रेस लगायत पाँच दलबीच चुनावी गठबन्धन गरेका दाहालले निर्वाचन लगत्तै त्यसको विकल्पमा ओलीसँग गठबन्धन गर्दै नयाँ गठबन्धन बनाएपनि प्रधानमन्त्रीले विश्वासको मत नपाउँदै ओलीबाट संविधान र व्यवस्थाविरुद्ध संसदमा दिएको अभिव्यक्तिका कारण आफू पुनः पुरानै गठबन्धनमा फर्किएको बताएका हुन्। आसन्न राष्ट्रपति निर्वाचनमा कांग्रेससहित ८ दलीय गठबन्धनको तर्फबाट प्रस्तावित उम्मेदवार नेता रामचन्द्र पौडेलको पक्षमा मत दिनेबारे बिहिबार आठै दलका संघीय संसदका सदस्यहरुको संयुक्त अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले गत पुस २६ गते आफूले विश्वासको मत लिनुअघि प्रतिनिधिसभाको बैठकमा ओलीले संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका हुन्। प्रधानमन्त्री दाहालले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बताए। सांसदहरूको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।’ पुस २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा उम्मेदवार बनेको कांग्रेस नेता पौडेलको पक्षमा मत माग्ने क्रममा उनले भने, ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ। गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ।’ ‘नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ। हामी अहिले पनि राजनीतिक संकट र चुनौतीकै बिचमा छौँ’ दाहालले थप्दै भने, ‘पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो। बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ। तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ।’ प्रधानमन्त्रीले दाहालले भने, ‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद विघटनको विपक्षमा थियौँ। हामी आफैले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ। संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ।’ आफूहरुसँग विगतका तीता अनुभवहरू पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक मात्र नभई राष्ट्रकै अभिभावक पनि भएको बताए। उनले भने, ‘तर, विगतमा त्यस्तो भएन, यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान नेता उम्मेदवार बनाएका छौँ। उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।’ कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेताहरू महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गर्दै गठबन्धनका उम्मेदवार पौडेललाई विजयी बनाउन सबै मतदाता सांसदहरुलाई आग्रह गरेका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update