हिमाल दैनिक
रास्वपा उम्मेदवार स्वर्णिमद्वारा गैरकानूनी चन्दा धन्दा सुरु!

देशमा आमूल परिवर्तनको नारा बोकेर तनहुँ क्षेत्र नम्बर १ को उपचुनावमा उम्मेदवारी बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेले विद्यमान कानूनी व्यवस्थाको ठाडो उलंघन गर्दै चन्दाको नाममा चुनाव खर्च उठाउन सुरु गरेका छन्।

आगामी वैशाख १० गते हुन लागेको तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाको तर्फबाट उम्मेदवारी दिएका वाग्लेले मंगलबार सामाजिक सञ्जालमार्फत ‘निर्वाचनका लागि पारदर्शी कोष’ शीर्षकमा सानिमा बैंकमा ९०९०१००१००००३५१ नम्बरको खाता खोल्दै चुनाव खर्च संकलनको अभियान सुरु गरेका छन्।

Chanda ain1680779621.JPG

उनले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा उक्त जानकारी दिँदै भनेका छन्, ‘तनहुँको आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा व्यक्त गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु. ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्म भए पूर्ण सार्वजनिक जानकारी सहित कानून बमोजिम गर्नेछु।’

आयोगले तोकेको निर्वाचन खर्च भन्दा बढी रकम जम्मा भएमा कानून बमोजिम गर्ने प्रतिबद्धता व्यक्त गरेका वाग्लेले देशको विद्यमान कानून बमोजिम प्रक्रिया पूरा नगरी चुनावी प्रयोजनका लागि मात्रै चन्दा संकलनार्थ खाता खोल्नै पाइँदैन भन्ने कुराको हेक्कै राखेका छैनन्।

चन्दा ऐन २०३० लाई २०७५ सालमा गरिएको संशोधन पश्चातको दफा ३ ले यसरी चन्दा उठाउन पूर्णरुपमा निषेध गरेको छ।

उक्त ऐनको दफा ३ को उपदफा (१) अनुसार, नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यका लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैर सरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन भन्ने उल्लेख छ।

Chanda ain article1680779754.JPG

उक्त दफाको उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि दफा ४ बमोजिम गठित कुनै प्रदेशस्तरी समितिबाट खासगरी शैक्षिक, सामाजिक, संस्था तथा अन्य विकास कार्यको लागि यस ऐन अन्तगर्तत बनेको नियममा तोकिए बमोजिम खर्च गर्ने गरी चन्दा उठाउने सकिने व्यवस्था रहेको छ।

अर्थात उक्त ऐनको दफा ४ बमोजिम चन्दा संकलनका लागि चन्दा संकलन समिति गठनको व्यवस्था गरिएको छ। जसको आधारमा चन्दा उठाउन आवश्यक र उपयुक्त देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा र प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय उद्योग वाणिज्य संघ तथा शैक्षिक संघ संस्था समेतको प्रतिनिधित्व हुनेगरी नेपाल सरकारले बढीमा ११ सदस्य र प्रदेश सरकारले बढीमा सात सदस्य रहेको चन्दा संकलन समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ।

साथै उक्त ऐनका दफा ५ मा चन्दा उठाउनु अघि चन्दाबाट उठाउनु पर्ने रकम र त्यसको संकलन प्रक्रियासँगै खर्चको कार्य योजनासहितको विस्तृत विवरण नेपाल सरकार वा प्रदेश सरकारसमक्ष पेश गरी पूर्व स्वीकृति लिएर मात्र उठाउन सकिने उल्लखे छ।

यसैगरी दफा ६ मा चन्दा रसिद छपाइदेखि रसिद छाप्ने कारखानाको नाम र ठेगानासहितका तीन प्रतिमध्ये एक प्रति महालेखा परिक्षकको कार्यालयमा पठाउनु पर्ने र दफा ७ बमोजिम चन्दा रकमको रितपूर्वक लेखा परिक्षणको अनिवार्य व्यवस्था गरिएको छ।

तर, रास्वपाका उम्मेदवार वाग्लेले काठमाडौंको नक्सालस्थित सानिमा बैंकको मुख्य कार्यालयमा खाता खोल्नु अघि चन्दा ऐनमा उल्लेखित कुनै पनि प्रक्रिया पूरा नगरेको मात्र होइन, उनले संकलन गर्न लागेको चन्दा ऐनले तोकेको मापदण्डभित्र नपर्ने प्रष्ट देखिन्छ।

वाग्लेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको चन्दा संकलन सम्बन्धी सूचनाको विषयमा तनहुँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग जिज्ञासा राख्दा उनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए।

हिमाल दैनिकले प्रमुख जिल्ला अधिकारी रिजालसँग वाग्लेले खोलेको चन्दा संकलन प्रक्रिया सुरु गर्नु अघि चन्दा ऐन २०३० को व्यवस्था वमोजिम गरेको हो भन्ने प्रश्नको जवाफमा उनले वाग्लेले सुरु गरेको चन्दा संकलनको प्रक्रियामा आफ्नो कार्यालयमा जानकारी नभएको बताए।

कुनै पनि व्यक्ति वा संघ संस्थाले चन्दा संकलन गर्नुअघि पूरा गर्नु पर्ने कानूनी प्रक्रिया र यसको पालनाबारे अहिलेसम्म वाग्लेले कुनै प्रक्रिया नअपनाएको जानकारी दिँदै यसबारे कानूनी कारबाहीको विषय निर्वाचन आयोगसँग सम्बन्धित विषय भएकोले यदी कसैले उजुरी दिएमा आयोगले नै हेर्न सक्ने रिजालले बताए।

‘यहाँले उठाएको विषय कानून बमोजिम स्थानीय प्रशासनको मातहतमा पर्ने भएपनि अहिले निर्वाचन प्रक्रिया सुरु भएको कारण यदी कसैले जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेपनि यो विषय निर्वाचन समयावधिसम्म जिल्ला निर्वाचन अधिकृतको कार्यालयले नै हेर्छ,’ उनले थप्दै भने, ‘म पनि जिल्ला निर्वाचन परिचालन समितिको सदस्य रहेको कारण यसबारे प्रमुख निर्वाचन अधिकृतज्यूसँगको बैठकमा उठाउँछु।’

यसरी वाग्लेले मात्र होइन, जो कोहीले पनि ऐन, कानून र नियममा उल्लेखित प्रावधान विपरित चन्दा संकलन गरेमा यसरी चन्दा उठाउने व्यक्तिलाई ऐनको दफा १३ को व्यवस्था बमोजिम दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने मात्र होइन, त्यसरी उठाइएको चन्दाको रकम समेत निजबाट सरकारी बाँकी सरह असूल उपर गर्ने व्यवस्था रहेको छ।

Chanda air article 131680780007.JPG

विगत एक दशकदेखि नेपाली कांग्रेस पार्टी र यसको नेतृत्व वरिपरी रहेर राज्यका विभिन्न तहमा लाभको पद लिन सफल भएका वाग्लेले पछिल्लो समय कांग्रेस र यसको नेतृत्वबाट चाहेवमोजिम लाभको पद प्राप्त गर्न नसकेपछि कांग्रेसको गुट र नेतासँगको निकटता बदल्दै चैत १६ गते कांग्रेस नै परित्याग गरेको घोषणा गरेका थिए।

पार्टी परित्यागको घोषणा गर्ने क्रममा सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध विषवमन गर्दै अलग्गिएका वाग्लेले तनहुँ १ बाट निर्वाचित कांग्रेस सांसद रामचन्द्र पौडेल देशको राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त हुन पुगेको क्षेत्रमा उपनिर्वाचनमा भाग लिन चैत २० गते रास्वपाको तर्फबाट उम्मेदवारी दिएका थिए।
 

 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update