हिमाल दैनिक
किसान श्रेष्ठको स्वर्णिमलाई प्रश्नः भोलि फेरि रवि दाई/भाउजुले पेले भने कहाँ जानुहुन्छ?

नेकपा एकिकृत समाजवादी (एस)का नेता कृष्णकुमार (किसान) श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दै उपनिर्वाचनमा होमिएका स्वर्णिम वाग्लेलाई फेरि रास्वपाका दाइ÷भाउजुले पेले भने कहाँ जानुहुन्छ भनि व्यंग्यात्मक प्रश्न गरेका छन्।

वैशाख १० गते हुन लागेको तनहुँ १ को उपनिर्वाचनको चुनावी सभामा लोकतान्त्रिक–वामगठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईको प्रचारमा दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका श्रेष्ठले वाग्लेलाई यस्तो प्रश्न गरेका हुन्।

गत चैत १६ गते कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवाको पेलाईका कारण पार्टीमा रहिरहन नसक्ने उल्लेख गर्दै रवि लामिछानेको रास्वपामा प्रवेश गर्दै तनहुँको उपनिर्वाचनमा उम्मेदवार बनेको वाग्लेलाई व्यक्तिगत स्वार्थका लागि तनहुँका जनतालाई बेबकुफ नबनाउन चेतावनी दिए।

उनले भने, ‘कांग्रेसमा दाई÷भाउजुले पेल्यो भन्दै पार्टी छाडेर रविको पार्टीमा जानु भयो। भोलि तपाईका पार्टी अध्यक्ष रवि र निकीता (भाउजु) पौडेल लामिछानेले पेलाइ दिनुभयो भने कहाँ जानुहुन्छ तपाई?’

विगतमा कांग्रेसबाट अनेक राजनीतिक लाभ लिएका वाग्ले अहिले रास्वपाको उम्मेदवारका रुपमा तनहुँमा पुगेका वाग्लेलाई गोरखा र चितवन छाडेर आएकोप्रति लक्षित गर्दै उनले भने, ‘तनहुँ जिल्ला अरु जिल्लामा नेता निर्यात गर्न सक्ने जिल्ला हो, नेता आयात गर्नु पर्ने डम्पिङ साइट जिल्ला होइन। खबरदार तनहुँका जनतालाई बेबकुफ बनाउने नबनाउँ।’

तनहुँबाट अघिल्लो निर्वाचनमा निर्वाचित भएर गत निर्वाचनमा बाराबाट निर्वाचित सांसद बनेका श्रेष्ठले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई तनहुँबाट र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई बाराबाट निर्वाचित गराउन पाएकोमा आफू भाग्यमानी भएको बताए।

उनले १० गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवार भट्टराई यसअघिका उम्मेदवारहरुले भन्दा ज्यादा अर्थात १० हजारको मतअन्तरले विजयी गराई छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पनि गठबन्धनका उम्मेदवारलाई विजयी गरी संविधान, लोकतन्त्र र परिवर्तनको रक्षा गर्दै देश र जनताको समृद्धिमा लाग्न आग्रह गरे।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update