हिमाल दैनिक
नेम्वाङको निधनप्रति प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले स्व नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  गए राति निधन हुनुभएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।  संविधानसभाका अध्यक्ष  नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

नेम्वाङको पार्थीव  शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुग्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update