हिमाल दैनिक
टि–२० विश्वकप छनौटको खेल भोलिदेखि नेपालमा सुरु हुँदै

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत एसिया क्षेत्रबाट छनौटका लागि फाइनलको खेल सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ।

त्रिभुवन विश्वविद्यालयस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छनौट प्रक्रियाको खेल यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो।  छनौटका लागि समूह ’ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया रहेका छन्।

समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनौटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ। खेल अघि नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक र कप्तानले विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफुहरु उत्साहित रहेको बताएका छन्।

खेलअघि आइतबार टियु मैदान कीर्तिपुरमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केहि समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए। उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने जानकारी दिए।

त्यस्तै कप्तान रोहित पौडेलले यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई अवको खेलमा दोहरिन नदिने बताए। उनले सन्दीप लामिछाने समावेश भएसंगै टिम व्यालेन्स र बलियो भएको जिकिर गरे।

नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ। यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउने छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update