हिमाल दैनिक
नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमनद्वारा उपाधि कब्जा

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको फाइनल खेलमा ओमानसँग नेपाल सुपर ओभरमा पराजित भएको छ।

नेपालले पहिले व्याटिङ गरेर दिएको १८५ को लक्ष्य प्राप्त गर्ने क्रममा ओमनले ९ विकेट गुमाउँदै रोमाञ्चक ढंगले १८४ रन बनाएपछि उक्त खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरको पहिलो इनिङमा व्याटिङका लागि मैदानमा उत्रिएका ओमनका मो. नसिम कुसीले अविनास बोहोराको तीन बलमा छक्कासहित १९ रन बनाए भने अकिव इलियासले एक रन बनाए। बोहोराले एक वाइडसहित २१ रन खर्चिएपछि फाइनल खेलको उपाधि नेपालका लागि करिब करिब असम्भव प्रायः बन्न पुगेको थियो।

त्यसपछि जवाफी व्याटिङका लागि उत्रिएका कुशल भुर्तेल विलाल खानको पहिलो बलमै क्याच आउट भएपछि मैदानमा कुशल मल्ल गुल्शन झालाई साथ दिन पुगेका थिए। तर, दुई चौकासहित ९ रन र झाले एक रन मात्र जोड्न सकेपछि उक्त खेलमा ओमन विजयी बन्यो।

यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य प्राप्तिका लागि मैदानमा उत्रिएका ओमनका खेलाडी कश्यप प्रजापतिले ६३ रन इलियासले ३३ कप्तान जेइसन मक्सुदले २६ रनको योगदानसहित नेपालले बनाएकै बराबरको रन बनाएर खेललाई सुपर ओभरमा पुर्याए।

नेपालका लागि मुख्य बलरका रुपमा परिचित करण केसी र सोमपाल कामी सबैभन्दा महंगो सावित भए। उनीहरुले क्रमशः २ ओभरमा ३० रन र ३ ओभरमा ३७ रन दिए। केसीले २ विकेट कामीले १ विकेट लिएपनि खेल अन्य बलरले पनि खासै राम्रो बलिङ गर्न सकेनन्। सन्दिप लामिछानेले ४ ओभरमध्ये अन्तिम २०औं ओभरमा २ विकेट लिँदै ८ रनको जित चाहिएको ओमनलाई रोक्न सफल भएपनि सुपर ओभरको खेलमा नेपाल ओेमनसँग पराजित भयो।
यसअघि नेपालसँगै ओमन एसियाबाट आगामी जुनमा हुने विश्वकप टि–२०मा छनौट भइसकेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update