हिमाल दैनिक
एनसेल शेयर खरिद–बिक्री प्रकरणबारे छानविन गर्न सरकारले बनायो उच्चस्तरी समिति

सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा भएको अनियमितताबारे छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

समितिको सदस्यहरुमा सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेको मन्त्री शर्माले बताइन्।

सरकारले समितिलाई समग्र विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन ३० दिनको कार्यादेश दिएको छ।

यसका अतिरिक्त आजको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय समेत गरेको मन्त्री शर्माले जानकारी दिइन्।

यस्तै मन्त्रिपरिषद्को बैठकले खोनपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update