हिमाल दैनिक
त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं  एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।

कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update