हिमाल दैनिक
राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेता सहभागी

पृथ्वीजयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका आयोजना गरेको छ।

संसदमा पाँचौँ ठूलो शक्तिका रुपमा रहेको राप्रपाले आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न राजनीतिक दलका शीर्ष नेता, संसदका सभामुख तथा सरकारका उच्चपदस्थ पदाधिकारीहरु सहभागी भए।

भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ता, पूर्वप्रशासक, सुरक्षाकर्मी लगायतको सहभागिता थियो।
 
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले सहभागी विशिष्ट पाहुनालाई स्वागत गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको तस्वीरमा पुष्पहार अर्पण गरेका थिए।

चियापान कार्यक्रमपछि लिङ्देनले मुलुकलाई एकतावद्ध गर्नेको सम्मान गर्दा कसैले हिनताबोध गर्न नहुने धारणा राखे। उनले भने, ‘यदी पृथ्वीनारायण शाह हुनुहुँदैनथ्यो भने, अहिले रामचन्द्र पौडेल कहाँको राष्ट्रपति र पुष्पकमल दाहाल कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो?’ भनि प्रश्न गरे।

फरक प्रसंगमा उनले कोशी प्रदेशको सभामुखमा राप्रपा गएको बिषयमा पार्टीभित्र बिभिन्न मत देखिएको भन्दै पार्टीभित्रै छलफल गरेर उचित निर्णयमा पुगिने जानकारी दिए।

उनले पार्टीले अघिसारेका बिभिन्न एजेण्डा र मागमा दवाव दिन फाल्गुनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्ने जानकारी पनि दिए। राप्रपाले प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update