हिमाल दैनिक
माघीको अवसरमा राष्ट्रपति पौडेलले दलका नेताहरुलाई भनेः संविधानको सफल कार्यान्वयन गर्न अब ढिला नगरौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले परिकल्पना गरेको बिषयलाई कानूनद्वारा व्यवस्थीत गर्न दलहरुको ध्यानाकर्षण गराएका छन्।

माघी पर्वका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम गर्दै राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयनका लागि आवश्यक ऐन, कानून छिटो भन्दा छिटो बनाउन तथा त्यसको सफल कार्यान्वयन मार्फत जनताका भावना र चाहनाको सम्बोधन गर्न ढिला गर्न नहुने बताए।

संविधान पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा जनतामा निराशा छाएको प्रसंग उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसका बाबजूद कोहिपनि पछाडीफर्कन नचाहेको दाबी गरे।

देशको संविधानको विषयमा देशभित्र र बाहिरबाट आएको प्रतिक्रियाबारे उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो संविधान उत्कृष्ट रहेको र यसले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै यो संविधानलाई सबैले प्रशंसा गरेको बताए।

संविधानका प्रावधान बमोजिम कतिपय पुराना कानून संशोधन र केही नयाँ कानून बनाउनु पर्ने अवस्था रहेको तर्फ संकेत गर्दै उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्न सवैले अठोट गर्नुपर्नेमा जोड दिए।

शीतल निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामशहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगाएत बिभिन्न दलका नेताहरुको उपस्थीति रहेको थियो।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update