हिमाल दैनिक
७८औं स्थापना दिवसको अवसरमा कांग्रेसले गर्यो उपाध्याय र थपलियाको सम्मान

नेपाली कांग्रेस पार्टी ७८औँ स्थापना दिवसको अवसरमा कांग्रेसले उक्त पार्टीका पुराना नेता योगप्रसाद उपाध्याय र प्रजातन्त्रवादी मानवअधिकारकर्मी नूतन थपलियालाई सम्मान गरेको छ।

पार्टी स्थापना पश्चात सम्भवत् पहिलो पटक आफ्नो स्थापना दिवस मनाउँदै शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा प्रजातन्त्रवादी नेता उपाध्याय र अधिकारकर्मी थपलिया सम्मानित भएका हुन्।

उनीहरुलाई पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गर्दै माला र दोसल्ला ओढाएर सम्मान गरे।

सम्मानित व्यक्तिहरुमध्ये उमेरले ९६ वर्षका थपलियाले मुलुकमा जनताले लोकतन्त्र प्राप्तिपछि धेरै कुरामा परिवर्तन भएपनि भ्रष्टाचार र कुशासनको अन्त्यविना लोकतन्त्र स्थायी हुन नसक्ने बताए।

सभापति देउवाले प्रजातन्त्र प्राप्तिको लडाईमा अविस्मरणीय योगदान दिएका उपाध्याय र थपलिया जस्ता व्यक्तिलाई पार्टीले सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा महामन्त्री गगनकुमार थापाले सम्मानित व्यक्तित्वहरुले पार्टी राजनीतिमा सक्रिय भएर लाग्दै गर्दाको राजनीतिक तथा सामाजिक परिवेश अहिलेको जस्तो अनुकूल नहुँदा पनि लोकतन्त्र प्राप्तिको अभियानमा सक्रिय भएर लाग्ने कुरा आफैँमा कल्पनाभन्दा बाहिरको कुरा रहेको बताए।

थापाले पार्टी स्थापना दिवसको दिन पार्टी नेता र कार्यकर्ताले आफ्नो गौरवमय इतिहास र इतिहासमा नेतृत्वले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै अघि बढ्न जरुरी भएको बताए।
 
कांग्रेसका लागि कुनै निर्वाचन जित्ने वा हार्ने कुरा खासै महत्वको विषय नभएको भन्दै उनले आफ्नो पार्टी किन स्थापना भएको थियो र त्यो लक्ष्य प्राप्तिका लागि के गर्ने भनि संकल्प गर्न जरुरी भएको बताए।

पार्टी उपसभापति धनराज गुरुङले आजको दिनमा इतिहासलाई केलाएर भविश्यको यात्रा तय गर्न जरुरी भएको बताए।

साथै उनले पार्टीभित्रका एक साथीले अर्कोलाई वैमश्यताको नजर नहेरि सम्मानकासाथ हेर्न पनि आग्रह गरे।
उनले इतिहासमा नेताहरुले के पाउने वा गुमाउने सवालमा संघर्षमा नलागेको उल्लेख गर्दै अहिलका नेता, कार्यकर्ताले पनि मैले के पाएँ र के गुमाएँ भन्ने भावनामा नचल्न सुझाव दिए।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update