हिमाल दैनिक
संघीय सरकारबाट कांग्रेसलाई हटाएको बदला गण्डकी र सुपका मुख्यमन्त्रीले यसरी लिए
file photo

राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले संघीय सरकारमा देखिएको परिवर्तनको असर प्रदेश तहमा पनि परेको छ।

संघीय सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकाएक सत्ता गठबन्धनमा गरेको हेराफेरी पश्चात सोमबार संघीय सरकारबाट बाहिरिन पुगेको नेपाली कांग्रेसका दुई मुख्यमन्त्रीहरुले आफ्नो प्रदेश मातहतको मन्त्रिमण्डलबाट माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरिदिएका छन्।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको सत्ता गठबन्धन भत्काउँदै एक वर्षअघिकै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन सरकारमा मन्त्रिमण्डलको पुनर्गठन गरेलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्रिपरिषदबाट माओवादीका मन्त्रीहरुलाई हटाइदिएका हुन्।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी भएका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद गठन गरी कार्यविभाजन गरेको जनाएका छन्।

प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्ति अनुसार, माओवादी मन्त्रीहरुले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले नै सम्हाल्ने बताइएको छ।

त्यस्तै, यसअघि कांग्रेसबाट सहभागी मन्त्री सरस्वती अर्याल (तिवारी)लाई ऊर्जा, जलस्रोत, तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, जितप्रकाश आले मगरलाई आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिइएको छ।
यसैगरी सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले माओवादीबाट आफ्नो मन्त्रिमण्डलमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरिदिएका छन्।

मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले जारी गरेको विज्ञप्ति अनुसार, पदमुक्त हुने माओवादीका मन्त्रीहरुमा सामाजिक विकास मन्त्री झपट साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीका अतिरिक्त राज्यमन्त्री गीता माल रहेका छन्।

कोशी प्रदेश सरकारको नेतृत्वसँगै राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट उम्मेदवार बनेकी चम्पादेवी कार्कीलाई कांग्रेसका तर्फबाट धोका दिँदा पराजित भएकोदेखि हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा माओवादीप्रति गरेको टिप्पणीसँगै महामन्त्री गगनकुमार थापाले अघि सारेको गठबन्धन विरोधी प्रस्तावका अतिरिक्त सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको कार्यशैलीप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रधानमन्त्री दाहालले कांग्रेसलाई गठबन्धनबाट बाहिर राख्न पुगेका थिए।

त्यसलगत्तै सोमबार बिहान एमाले लगायतका विपक्षी दलसँग ८ बुँदे सहमति कायम गर्दै सोमबारै तीन दलका तीन जनालाई नयाँ मन्त्री नियुक्त गरेका थिए।

यसरी कांग्रेससँगको गठबन्धन भत्काएलगत्तै प्रदेशमा पनि पाण्डे र शाहले माओवादी मन्त्रीलाई पाखा लगाइदिएका छन्। 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update