हिमाल दैनिक
कांग्रेसले इलाममा डम्बर र बझाङमा अघिषेकलाई उम्मेदवार बनाउँदै

नेपाली कांग्रेसले बैंशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानलीकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति तथा संसदीय समितिको बैठकले इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा कांग्रेस इलामका सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

त्यस्तै बैठकले बझाङको प्रदेश सभा (क)का लागि हुन लागेको उपनिर्वाचनमा अभिषेकबहादुर सिंहलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

यसअघि बिहीबार नै बसेको संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो। प्रचार विभाग प्रमुख विश्वकर्माले निर्वाचनमा पार्टीले जित्नको लागि सबैको सहयोग आह्वान गरिने र परिस्थीति निर्माण भए सहकार्यको वातावरण बन्न सक्ने बताए।

इलामका उम्मेदवार खड्का २०७९ को चुनावमा नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग झिनो मतअन्तरले पराजित भएका थिए। प्रतिनिधि सभा सदस्य एवं एमाले नेता नेम्वाङको केही समयअघि हृदयघातका कारण निधन भएपछि रिक्त रहन पुगेको उक्त क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचनमार्फत पदपूर्तिको तयारी गरिरहेको छ।

त्यसैगरी बझाङ (क) बाट निर्वाचित तत्कालिन सांसद एवं प्रदेश सरकारका मन्त्री पृथ्वीबहादुर सिंहको केही महिनाअघि सडक दुर्घटनामा परि निधन भएपछि रिक्त हुन पुगेको उक्त क्षेत्रमा कांग्रेसले सिंहकै छोरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।  

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update