हिमाल दैनिक
भिजिट भिसा प्रकरणलाई चर्काउँदै माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए।

उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।

गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्दै जाने उनले बताए।

केही दिनअघि एकाएक देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट खाडी मुलुक लगायतका कतिपय देशहरुमा अवैध कामदार पठाउँदा अध्यागमनका कर्मचारीले म्यानपावर व्यवसायीसँगको मिलोमतोमा दैनिक ५०औं लाख रुपैयाँ असुली गर्ने गरेको समाचार सार्वजनिक भएलगत्तै अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनका कर्मचारीहरुमाथि अनुसन्धान कार्य सुरु गरिसकेको छ।

सोही विषयमा गृह मन्त्रालयको नेतृत्व सम्हालेर बसिरहेका गृहमन्त्री लेखक र उनको सचिवालयका कतिपय सदस्यहरु पनि संलग्न रहेको आशंका गर्दै विपक्षी दलका नेतादेखि स्वयं सत्तापक्षकै कतिपय नेताहरुले लेखकको राजीनामा माग गरिसकेका छन्।

त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए।

उनले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थीति र आकर्षण गुणात्मक ढंगले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गरे।

 

प्रकाशित मिति: सोमबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update