हिमाल दैनिक
प्रधानमन्त्री कार्कीसँग पहिलो पटक भेट्दै प्रमुख दलका शीर्ष नेताले भनेः चुनावको वातावरण अझै बनेको छैन
Photo: PM Sushila Karki

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन सफल पार्न प्रमुख दलका शीर्षनेतासमक्ष आग्रह गरेकी छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसंगको छलफलमा प्रधानमन्त्री कार्कीले राष्ट्रको भविष्य, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचनमा सहभागी भएर सफल पार्न आग्रह गरेकी हुन्।

गत भदौ २३ र २४ गतेको अनपेक्षित दुर्घटना लगत्तै सरकारको नेतृत्व सम्हाल्न पुगेकी पूर्वप्रधानन्यायाधीश कार्कीले सुरुका दिनमा प्रमुख तीन दलका नेताप्रति घृणायुक्त अभिव्यक्ति दिँदै उनीहरुको ‘मुखै नहेर्ने’ भन्दै आएपनि पछिल्लो समय निर्वाचन सम्पन्न गर्न दलको साथ र समर्थनविना असम्भव देखिएपछि केहीदिन अघि राष्ट्रपतिको माध्यमबाट सम्वाद र भेटघाटको थालनी गरेकी थिइन्।

यही क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई प्रमुख तीन दलका शीर्ष नेताहरुकै निवासमा पठाएर आजको बैठकमा आउन आग्रह गरेपछि तीन दलका नेताहरु आज बालुवाटारमा कार्कीसँग पहिलो पटक औपचारिक भेटवार्तामा पुगेका थिए। 

नेताहरुसँगको वार्ताका क्रममा प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक अन्य मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाएको उनले बताएकी थिइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको जानकारी गराएको बताएकी थिइन्।

छलफलपछि कांग्रेस सभापति देउवाले सबै दलहरु चूनावमा जान तयार रहेको तर, शान्ति सुरक्षाको फितलो व्यवस्थापनका कारण चूनावको वातावरण अझै नबनेकाले यसमा ध्यान दिन सुझाव दिएको बताएका थिए।

गत भदौ २४ गते आफ्नै निवासमा ठूलो संख्यामा जम्मा भएको अराजक भिडको सांघातिक आक्रमणमा परि सख्त घाइते भएपछि पार्टीको सभापतिको जिम्मेवारी समेत उपसभापति पूर्णबहादुर खड्कालाई दिएर मिडियामाझ कुनै औपचारिक प्रतिक्रिया नदिएका देउवाले आज बालुवाटारमा भने पत्रकारहरुसमक्ष आफ्नो धारणा स्पष्ट राखेका थिए।

छलफलका क्रममा देउवा र देउवाले पार्टीले निर्वाचनको तयारी गरिरहेको बताएपनि एमाले अध्यक्ष ओलीले अझै पनि बिभिन्न चूनौति रहेकाले निष्पक्ष, भयरहीतरुपमा निर्वाचनको वातावरण बनाउन सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

छलफलका क्रममा प्रधानमन्त्री र शीर्ष नेताहरुबीच चूनावमा जाने सहमति भएको दावी मन्त्री खरेलले गरे।
उनले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै कुनै आशंका नगर्न आग्रह समेत गरे।

 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update