हिमाल दैनिक
राजनीतिक नेताहरुप्रतिको सरकारी व्यवहारले मुलुकमा द्वन्द्ध निम्त्याउँछः खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरुलाई अपराधीलाई जस्तो व्यवहार गरे देश अन्तरद्वन्द तर्फ जाने खतरा रहेको भन्दै सचेत गराएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरुमाथि धरपकड भइरहेको भन्दै एउटा अपराधी जस्तो व्यवहार गर्न थाले देश समझदारी तर्फ नभइ अन्तरद्वन्द्वतर्फ जाने खतरा रहेको बताए।
उनले सरकारले कानुनसम्मत प्रक्रियाहरुलाई अपनाएर र अनुसरण गरेर मात्रै कुनैपनि कदम चाल्नु उचित हुने धारणा राखे।

पछिल्लो समय सम्पन्न आम निर्वाचन लगत्तै प्रचण्ड बहुमतसहितको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह नेतृत्वको सरकार गठन भएलगत्तै विगतका कतिपय राजनीतिक तथा प्रशासनिक कामकारबाहीको सन्दर्भमा पुराना राजनीतिक दलका नेताहरुविरुद्ध विभिन्न आरोपमा पक्राउ र धरपडकको गतिले तिब्रता लिँदै गएको छ।

त्यसको पछिल्लो क्रममा नेकपा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सोमबार सम्पत्ति सुद्धिकरण विभागले शेयर खरिद तथा अस्वभाविक सम्पत्तिको विषयमा अनुसन्धानका लागि भन्दै सुर्खेतबाट पक्राउगरी मंगलबार काठमाडौं ल्याएको थियो।

त्यस्तै खनालले अपरिपक्क ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढाए देश दुर्घटनातर्फ जानसक्ने खतरा रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

संविधान बनेको १० बर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समिक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।

खनालले हचुवाका भरमा संविधान संशोधन गर्ने र बिभिन्न संरचना खारेज गर्ने कार्य उचित नहुने धारणा राख्दै अहिले पनि संविधानको भाग ४ लगाएत धेरै कुराहरु लागू नै हुन नसकेको भन्दै रास्वपा नेतृत्वको सरकारले यसमा गम्भीर ध्यान पुराउन सुझाव दिए।

त्यसैगरि पूर्वप्रधानमन्त्री खनालले सीमाका बिषयमा प्रधानमन्त्री बालेन्द्र साहले सदनमा दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी गरे।

सम्भवत बालेन साह प्रधानमन्त्री भइसकेपछि व्यक्त गरेका अभिव्यक्तिहरु मध्ये सबैभन्दा कच्चा अभिव्यक्ति सीमा सम्बन्धी भएको उनको भनाइ छ।

खनालले चितवनमा गएर प्रधानमन्त्रीले ’मेरो राष्ट्रियता माथि शंका गर्नु पर्दैन’ भनेको अवस्थामा संसदमा आएर रेकर्डबाट हटाउन स्वयं प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने बताए।

प्रधानमन्त्री आफैले माग गरेर उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाए सारा देशले प्रधानमन्त्रीलाई समर्थन गर्ने उनको भनाई छ। 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update