भेप आयतका नाममा अवैद्य सुन तस्करी गरेको आरोपमा पक्राउ परि हिरासतमा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
तत्कालीन सरकारको अर्थमन्त्रीका रुपमा कार्यरत रहँदा चीनबाट आयात गरिएको विद्युतीय चुरोट (भेप)भित्र सुन लुकाएर नेपाल ल्याएको अवैद्य सुन त्रिभुवन विमानस्थलस्थित भन्सारबाट छुटाउने कार्यमा संलग्न रहेको भन्दै संगठित अपराध तथा राजस्व छलिको आरोपमा दोस्रो पक्राउ परि जिल्ला अदालतको आदेशमा थुनामै रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता महरालाई बिहिबार उच्च अदालते धरौटीमा छाड्न आदेश दिएको हो।
गत असोजमा दोस्रो पटक पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले असोज २९ थुनामै राखेर मुद्दा अघि बढाउन दिएको आदेशविरुद्ध महराले दिएको आदेश बदरको रिटमाथि बिहिबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले यसअघिका अनुसन्धान, वयान र प्रमाणका आधारमा प्रतिवादीलाई थुनामै राखिराख्नु पर्ने आधार नदेखिएको भन्दै धरौटीमा छाड्न भनेको हो।
अघिल्लो पटक पनि विरामी रहेको अवस्था देखाउँदै साधारण तारेखमा थुनामुक्त भएका महरालाई दोस्रो पटक पक्राउ गरिएकोमा उच्च अदालतले प्रतिवादीको उमेर, स्वास्थ्य अवस्थासँगै संकलित सबुदप्रमाणका आधारमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै तत्कालका लागि २० लाख रुपैयाँ वा सो बराबरको जमानत बैंकमार्फत लिई थुनामुक्त गरिदिन आदेश दिएको हो।



