नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै दाहालले राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार अवस्थामा रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।
दाहालले राजावादीहरुले पैसाको बलमा भाडाको मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप समेत लगाए।
उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो भन्दै प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सवै जनताको बलिदान र संघर्षको परिणामले आएको दाबी गरे।
माओवादी र दाहाललाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कुप्रचार गरिरहेको आरोप पनि लगाए।
त्यस्तै अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगमनबिरुद्ध संघर्ष गर्दै गणतन्त्रको बिकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहो¥याउने जिम्मेवारी र चूनौति माओवादीको काँधमा रहेको उल्लेख गरे।
उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारवाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको दाबी पनि गरे।
दाहालले आफुहरुको अभियान फेरी सुरु हुने र जनतासंग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर गरे।