पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरुले फागुन १ गते त्रिभुवन विमानस्थलदेखि उनको निजी निवाससम्म र्यालीसहितको प्रदर्शनको तयारी गरिरहेका बेला स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई सो कार्यक्रम गर्न निषेध गरेको छ।
आफ्नो तीन महिना लामो झापा बसाई सकेर शुक्रबार राजधानी फर्कने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलदेखि उनको निवास निर्मल निवाससम्म भव्य स्वागत सत्कार गर्दै नारा जुलुससहित पुर्याउने तयारी गरिरहेकै बेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार राजावादीहरुको कार्यक्रममा रोक लगाएको हो।
1770887508.jpg)
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख ईश्वरराज पौडेलले बेग्लाबेग्लै सूचना र आदेश जारी गर्दै फागुन १ गतेको कार्यक्रममा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी पौडेलले एकातिर मुलुक आसन्न आम निर्वाचनको तयारीमा रहेको र अर्कोतर्फ नजिकिँदै गरेको फागुन ३ गते महाशिवरात्री पर्वलाई ध्यानमा राख्दै विमानस्थल गेटभित्र आगामी एक महिनासम्म कुनै पनि किसिमका धर्ना, जुलुस, सभा, सम्मेलन गर्न वा पाँच जना भन्दा बढि व्यक्ति भेला हुन नपाउने भन्दै निषेधाज्ञा जारी गरेका छन्।
यसका अतिरिक्त जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कोही कसैले प्रदर्शन, र्याली, भेला लगायतका गतिविधि गर्न सम्बन्धित कार्यालयमा पूर्व जानकारी दिने वा स्वीकृति लिने कार्य नगरेको भन्दै निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकारका कार्यक्रममा बन्देज लगाइएको सार्वजनिक सूचनामार्फत जनाएको छ।
गत वर्षको फागुन महिनामा पनि पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने क्रममा पूर्वराजावादी संघ, संस्थाका प्रतिनिधिदेखि उनका समर्थकहरुको ठूलो संख्याले विमानस्थलदेखि निर्मल निवाससम्म प्रदर्शन गरेको थियो।
उक्त प्रदर्शनबाट हौसिएका राजावादीहरुले गत वर्षको चैत १५ गते राजसंस्थाको पुनस्थापना र हिन्दु राज्य स्थापनाको नारा लिएर राजधानीको तीन कुनेमा विरोध प्रदर्शनको कार्यक्रम गर्दा केही व्यक्तिहरुको सुरक्षा कारबाहीमा मृत्यु हुन पुगेको थियो।
जसको आधारमा समाजभित्र विस्तारै बढ्दै गएको विद्रोह र असन्तुष्टिको ज्वाला गत भदौ २३ र २४ गतेको नरसंहार र विध्वंशमा परिणत हुँदा मुलुकले अकल्पनीय ध्वंश र विनास व्यहोर्नु परेको थियो।



