राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृह बाहिर पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका छन्।
मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनाका बिषयमा पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको दोहोर्याए।
सोमबार बिहानैदेखि कान्तिपुर मिडिया ग्रुपको शान्तिनगरस्थित कार्यालयको प्रवेशद्वार, अनलाइन खबर तथा हिमालय टेलिभिजनको कार्यालय प्रवेश गर्ने मुल गेटबाहिर अज्ञात व्यक्तिहरुले एकैसमयमा बेग्लाबेग्लै निजी सवारी साधन लगेर अनाधिकृत पार्किङ गरिहिँडेका थिए।
सुरुमा उक्त विषयलाई सामान्य रुपमा लिइएपनि चार÷पाँच घण्टासम्म सवारी चालक सम्पर्कमा नआउने मात्रै होइन, ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी र सुरक्षाकर्मी आउन र हटाउन गरिएको आलटाललाई लिएर उक्त कार्य सरकार निकट व्यक्ति वा समूहबाटै भएको सहज अनुमान गर्दै सामाजिक सञ्जाल र मिडियामार्फत चर्को आलोचना सुरु भएको थियो।
त्यसपछिको समयमा प्रमुख विपक्षी दलका नेता गगनकुमार थापाको निजी निवासबाहिर पनि सवारी साधान वेवारिसे छाडिएको खबर सार्वजनिक भएपछि संचारमाध्यमले यातायात व्यवस्था विभागमा सवारीधनीका बारेमा सोधखोज गर्दा सर्भर विग्रीएको भन्दै सूचना प्रवाहमा आलटाल भएको थियो।
तत्पश्चात कान्तिपुर मिडियाले आफ्नै अग्रसरतामा क्रेन मगाएर उक्त गाडीलाई ट्राफिक कार्यालयको जिम्मा लगाएको थियो। जुन कार रास्वपा कार्यकर्ता रवि जयसवालको नाममा रहेको पुष्टि भएको थियो भने अनलाइन खबरको गाडी रास्वपाकै अर्का कार्यकर्ताको रहेको सूचना बाहिर आएको थियो।
यसरी सबै ठाउँबाट उठाएर ल्याइएका गाडीलाई ट्राफिक कार्यालयले पाँच सय रुपैयामात्रै जरिवाना तिराएर साँझै छाडिएपछि उक्त विषयबारे सरकारी संलग्नतामा बलियो आधार देखिएको थियो।
यसबारे सभापति लामिछानेले उक्त घटनामा रास्वपाका नेता वा कार्यकता जसको संलग्नता भएपनि कारवाही हुनुपर्ने बताए।
सभापति लामिछानेले प्रधानमन्त्रीसंग राष्ट्रिय राजनीति, समसामयिक परिस्थिति, आगामी कार्यदिशाका बिषयमा सकारात्मक र परिणाममुखी छलफल भएको जानकारी दिएका थिए।
त्यस्तै सुकुम्बासी समस्या समाधान गर्नको निमित्त चालिएको कदमलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको लामिछानेले बताए।



