बल्ल बनायो सरकारले डा केसीसँग वार्ताका लागि वार्ता समिति
                        
                        
                                                
                                             
                                                
                        चौतर्फी दबाबपछि सरकारले बल्लतल्ल आमरण अनसनमा बसेको डाक्टर गोविन्द केसीसँग वार्ताका लागि उच्चस्तरिय वार्ता टोली गठन गरेको छ।
चिकित्सा शिक्षा क्षेत्रको सुधार तथा कोरोना महामारीविरुद्ध सरकारको कामकारबाहीबारे विभिन्न माग राख्दै विगत २४ दिनदेखि आमरण अनसनमा रहेका केसीसँग औपचारिक वार्ताका लागि बुधबार प्रधानमन्त्री केपी शर्माको निर्देशनपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले तीन सदस्यीय वार्ता टोली गठन गरेका हुन्।
मन्त्रीस्तरिय निर्णय अनुसार गठन गरिएको वार्ता टोलीको संयोजकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली रहेका छन्। समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन्।
मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गरेका थिए। तर, केसीले सरकारले वाताए समिति नगरेसम्म आफूसँग कुनै कुरा नगर्न भन्दै केसीले सचिव मैनालीलाई फर्काइदिएका थिए।
केसीको स्वास्थ्य अवस्था दिनानुदिन गम्भीर बन्दै गएपछि देशभरीका सरकारी तथा आवासीय चिकित्सकहरुले केसीको पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै विरोधमा उत्रिएका छन्।
यसका अतिरिक्त सत्ताबाहिर रहेका राजनीतिक दल तथा समाजका विभिन्न संस्था तथा व्यक्तिका अतिरिक्त स्वयं सत्तारुढ दलकै नेताहरुले समेत केसीको मागबारे सरकारी वेवास्ता स्वयं सरकारलाई नै घातक हुन सक्ने चेतावनी दिएका थिए।
जसको कारण सरकारले बाध्य भएर आज मात्रै वार्ता समिति बनाएको हो।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    