शताब्दी पुरुष जोशी दम्पतीबाट मरणोपरान्त शरीर दानको घोषणा
                        
                        
                                                
                                             
                                                
                        संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन्।
नइ प्रकाशनले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा शताब्दी पुरुष जोशी र उनकी धर्मपत्नी राधादेवीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरेका हुन्।
जोशी दम्पत्तीको शरीर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई प्रदान गरिने जानकारी दिइएको छ।
जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भन्ने उद्देश्यले शरीर दान गरेको बताए।
‘म चाहान्छु, यती लामो उमेरसम्म कसरी र के कारणले मेरो शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस्,’ शताब्दी पुरुष जोशीले उक्त कार्यक्रममा भने।
हरेक मानिसले दीर्घ जीवन पाउन पीर, चिन्ता, शोकरहित भएर सधै आ–आफ्ना कर्ममा लाग्नुपर्ने उनको सुझाव रहेको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको शरीरबारे अध्ययन गरी पाएको उपलब्धीलाई मुलुकवासीले पक्कै मनन् गरी अघि बढ्ने विश्वास व्यक्त गरे।
नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जोशीमा महानता, सरलता र दुरदर्शी भावना रहेको बताउँदै जोशी दम्पत्तीको मुक्तकण्ठले प्रशंसा गरे।
मेडिकल कलेजलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उनीहरुका छोरा अनुराज जोशीसमेतको सहमतिसहितको हस्ताक्षर रहेको छ। 
                        
                    
                प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                        