भोलिदेखि २८ गतेसम्म यस वर्षकै अत्याधिक वर्षाको अनुमान गर्दै गृहले बजायो खतराको घण्टी!

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि बिहिबारदेखि चारदिनसम्म देशका अधिकांश भागमा यस वर्षकै सबैभन्दा बढी पानी पर्न सक्ने अनुमान गर्दै सम्बन्धित सबैलाई सचेत रहन आग्रह गरेको छ।
गृह मन्त्रालय अन्तर्गतको प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै असार २५ देखि २८ गतेसम्म १ नम्बर, २ नम्बर प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको बताएको छ।
यस वर्षको सुरुवात अर्थात वैशाखदेखि नै देशका विभिन्न भागमा प्रशस्त पानी परिरहेकोले जमिनको सतह गलेको अवस्थामा थप भारी वर्षाले आउन सक्ने बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारी निकायले पूर्वसूचना दिएर आम सर्वसाधारणलाई सम्भवत पहिलो पटक सचेत गराएको हो।
प्राधिकरणले पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीनालामा बाढी आउने सम्भावना रहेको बताउँदै लामो वर्षाले पहाडी भेगको भूभाग गलिसकेकोले कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सबैैलाई सचेत र चनाखो रहन पनि आग्रह गरेको छ।
भारी वर्षाबाट हुन सक्ने सम्भावित जोखिम समेतलाई आंकलन गरी यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ तयार पारिएको र उक्त कार्य योजना गृह मन्त्रालयको वेवसाइटबाट पनि हेर्न सकिने जनाइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै विपदका क्षणमा संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु, विकास साझेदारहरु, सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवं सम्बद्ध निकाय लगायत विपद व्यवस्थापनमा खटिने निकायहरु र सर्वसाधारणहरु उच्च सतर्क एवं सुरक्षित अवस्थामा रहन पनि सरकारी निकायले आग्रह गरेको छ।
साथै शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान पनि गरिएको छ।
[pdf-embedder url="http://himaldainik.com/wp-content/uploads/2020/07/प्रेस-नोट_20200708_0002.pdf" title="प्रेस नोट_20200708_0002"]
यसले खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउन सक्ने आशंका गर्दै सरकारले त्यस क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरेको छ। तराईका झापा,देखि चितवनसम्मका जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएकोले सरकारले त्यसप्रकारका क्षेत्रमा रहने बासिन्दालाई बेलैमा सचेत रहन पनि अनुरोध गरेको छ।
प्रदेश नम्बर १ देखि गण्डकी प्रदेशसम्मका चार प्रदेश बाहेक लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्कता अपनाउन जरुरी भएको सरकारी निकायले बताएको छ।
सम्भावित खतरालाई ध्यानमा राख्दै बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा चौविसै घण्टा सेवा उलब्ध गराउने भएको छ।
यसैगरी सरकारले सम्भावित खतराबारे नागरिकको मोबाइलमा आउने एसएमएस तथा समाचार माध्यमबाट आउने सूचना सुन्न पनि आग्रह गरेको छ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय