हिमाल दैनिक
प्रजातन्त्रकी सेनानी रानाभाटको निधनप्रति सभापति देउवाद्वारा शोक व्यक्त
83792204_2680590248844932_934056900814254733_n
प्रजातन्त्रका सेनानी स्व. नारायणदत्त रानाभाटको धर्मपत्नी तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटकी आमा एवं प्रजातन्त्रकी सेनानी खिमकुमारीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। निरंकुश पञ्चायतकालदेखि नै प्रजातन्त्र र जनताको अधिकारका लागि कांग्रेसको राजनीतिमा क्रियाशील रानाभाटकी आमाको मंगलबार बिहान पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित आफ्नै निवासमा एक सय वर्षको उमेरमा निधन भएको थियो। ‘नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएकी प्रजातन्त्र सेनानी खिमकुमारी रानाभाटको निधनको खबरले मलाई दुःखीत बनाएको छ। स्वर्गीय रानाभाटले आफ्ना सन्तति र पार्टीका साथीहरुलाई सदैव देश, लोकतन्त्र र आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्नु भएको थियो। उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ। उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको आत्माको चीर शान्तिको कामनाका साथ नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट लगायत सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु,’ सभापति देउवाले मंगलबार एक शोक वक्तव्य मार्फत भनेका छन्। रानाभाटका चार छोरा र दुई छोरी रहेका छन्।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update