हिमाल दैनिक
नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाविरुद्ध ५४ लाख रूपैयाँ अनियमिता गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध ५४ लाख ८४ हजार ४५ रूपैयाँ ६० पैसा अनियमिता गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। कोइरालाले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका काम गरी भ्रष्टाचारजन्य कसूर गरेको आयोगको ठहर छ। उनले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा बैंकले प्रयोग गर्ने बैंकिङ सिस्टमअन्तर्गत प्रयोग गर्ने गरी व्यक्तिगत रूपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरूपयोग गरेको अभियोग लागेको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कोइरालाबाट असुल उपर गरी पाउन बिगो बराबरको मागदाबी लिई हिजो २१ असारमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update