हिमाल दैनिक
दम्पतीको हत्या गरि फरार जेके १४ वर्षपछि प्रहरीको फन्दामा
CIB
१४ वर्ष अगाडि काठमाडौंको सीतापाइलामा भएको दम्पती हत्याका आरोपी सर्लाही घर भएका जेके भनिने जयकिशोर साह पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३४ वर्षीय साहलाई असार २८ गते बाँकेबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई सोमबार ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । २०६३ साल पुस २० गते सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरी फरार भएका साहलाई बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । हत्यामा संलग्न अर्का आरोपी बाँकेका प्रताप राना भने अझै फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी सहकुल थापाले जनाकारी दिए । हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको र दुई वर्ष त्यहाँसँगै बसेपछि राना अन्यत्रै लागेको उनको भनाई छ। साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय रासन कार्डसमेत लिएर बस्दै आएको प्रमुख थापाले जानकारी दिए । हत्याका आरोपी दुवै जना त्यही काठ मिलका कामदार हुन् । मिल सञ्चालक सुवेदीसँग भनाभन भएपछि २०६३ साल पुस २० गते राति छुरा प्रहार गरी सुवेदी दम्पतीको हत्या गरेका थिए । उक्त घटनाका बेला साह १५ बर्षका थिए । हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ । दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए । साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय आधार कार्ड समेत लिएर बस्दै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update